माओवादी स्थायी समिति बैठक सम्पन्न : पार्टी एकताबद्ध, टीआरसी पारित महत्त्वपूर्ण कदम

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन

नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक सम्पन्न भएको छ । एक हप्तादेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठक बिहीबार सम्पन्न भएको हाे ।

बैठकले पार्टीको केन्द्रीय समिति बैठक र प्रदेश समिति बैठकहरूकाे मिति ठाेस गरेकाे छ । बैठकबाट पार्टी एकताबद्ध भएको बताइएको छ ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विहंगम छलफल र बहसपछि झन एकताबद्ध भएको दाबी गरेका छन् ।

उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि फुटकाे हल्ला फिँजाइएको बताउँदै ती हल्लाहरू हल्लामात्रै भएको पुष्टि भएको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने निराधार हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको उनको भनाइ छ । उनले पार्टी एकताबद्ध भएको पनि दाेहाेर्याए ।

‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । हो-हल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्,’ उनले भने, ‘खासगरी कमरेड प्रभाकर (जनार्दन शर्मा) ले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’

त्यसैगरी माओवादी केन्द्रकाे बैठकले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको निष्कर्ष पनि निकालेको छ ।

बैठक समापन गर्दै प्रचण्डले टीआरसी विधेयक पारितले शान्ति प्रक्रियाकाे महत्वपूर्ण काम भएको बताएका थिए । उनलेे भनेका थिए- मलाई शान्ति प्रक्रिया टुंगो लगाउन ध्यान दिएन भन्ने थियो । मेरो पहिलेदेखि नै सर्वसम्मतिबाट गर्नुपर्छ भन्ने थियो,’ दाहालले भने, ‘प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर धेरै राम्रो भएको छ ।’

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकाली न्यायसम्बन्धी विधेयक पारित भएपछि शान्ति प्रक्रिया निष्कर्षतिर पुग्न लागेको स्थायी समितिको ठहर भएको बताए । ‘लामो समयदेखि संसद्‌मा रहेको टीआरसी विधेयक पारित भएपछि शान्ति प्रक्रिया निष्कर्षतर्फ पुग्न लागेको स्थायी समितिको ठहर छ,’ उनले सञ्चारकर्मीसँग भने ।