उपनिर्वाचनको तयारी : यी ३४ पदमा हुनेछ मंसिरमा उपनिर्वाचन

मूलखबर संवाददाता
काठमाडौं, २९ साउन ।

गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु विभिन्न कारणले सो पदमा नरहेपछि रिक्त हुन पुगेको ३४ स्थानमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको जनाएको छ । निर्वाचित जनप्रतिनिधिहरुमध्ये कोही दुर्घटनामा परेर त कोही आकस्मीक कारणले निधन भएको तथा केही विदेश गएकाले पद रिक्त भएको हो ।

आयोगको तथ्यांकअनुसार स्थानीय तहमा नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ गरी स्थानीय तहमा ३४ पद रिक्त छ । जसमा काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोट नलगाड नगरपालिका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ ।

त्यस्तै, सुनसरीको गडी गाउँपालिका ६, उदयपुरको त्रियुगा नगरपालिका १२, रौतहटको ईशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४, काठमाडौंको कीर्तिपुर नगरपालिका १ र ४, काठमाडौं महानगरपालिका १६, नुवाकोटको ककनी गाउँपालिका २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२, गोरखाको गोरखा नगरपालिका ५, गुल्मीको मुसिकोट नगरपालिका १, रोल्पाको रुन्टिगढी गाउँपालिका ८, बर्दियाको ठाकुरबाबा नगरपालिका ४, कालीकोटको तिलागुफा नगरपालिका ४, जाजरकोटको कुशे गाउँपालिका ७, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५, दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ लगायत २८ वटा वडाध्यक्ष पद खाली छ ।
सो स्थानहरुमा मंसिरमै उपनिर्वाचन गर्न प्रधानमन्त्रीले अनुमति दिएकोले निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गर्न लागिेको प्रमूख निर्वाचन आयुत्तः दिनेश थपलियाले बताएका छन् ।