माओवादी केन्द्रको बैठकमा विधिको व्यापक बहस, प्रचण्डले खोलेका थिए बहसको ढोका

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन ।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा विधिको बहस भएको छ ।

प्रतिनिधिसभाको प्रमूख प्रतिपक्षी दलको रुपमा रहेको माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा पार्टी रुपान्तरणबारे विधिमा ब्यापक बहस भएको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा साउन २५ गते शुरु भएको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनिर्माण र सुदृढिकरणको लागि नयाँ ढंगले विधिको विकास गर्न बहस आवश्यक भएको भन्दै विधिको बहसको ढोका खोलेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डले यस अघि सम्पन्न पदाधिकारी बैठकमा पनि सिमाविहिन ढंगले पदाधिकारी सदस्यले बोल्नको लागि अपील गर्दै पार्टीलाई नयाँ ढंगको कम्युनिष्ट पार्टीमा रुपमान्तरण गर्नुको विकल्प नभएको बताएका थिए ।

प्रवक्ता अग्नी सापकोटाका अनुसार उनले पार्टीको नेतृवमा सरकारमा रहँदा सरकारले राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको सवालमा पार्टीले राम्रो गरेको भन्दै त्यसको बचाउ गर्न सिंगै पार्टी पंक्ति लाग्नुपर्नेमा त्यसो नभएको बताएका थिए ।

प्रचण्डले पार्टीले जनपक्षीय निर्णय गरिरहेको भएतापनि पार्टी पंक्तिमा उत्साह नआएको र पार्टी झन खुम्चीनुमा गुटगत मानसिकताले काम गरेको हुनसक्ने बताउँदै स्थायी समिति बैठकमा स्थायी समिति सदस्यहरुलाई पार्टी पुननिर्माणबारे खुलेर धारणा राख्न अपील गरेका थिए ।

प्रचण्डले खोलेको विधिको बहसको ढोकाबाट नै स्थायी समितिमा सदस्यहरुले आफ्नो विचार राखिरहेको स्थायी समिति सदस्य अमृता थापामगरले मुलखबरलाई बताइन् । उनका अनुसार पार्टी अध्यक्ष प्रचण्डले पार्टी पुननिर्माणको विकल्प नभएको र नेतृत्व हस्तान्तरणको पनि विधिको विकास गर्नुपर्ने भनाई राख्र्दै आफु नेतृत्व हस्तान्तरणको उपयुक्त विधिको विकास गर्न चाहिरहेको बताएका थिए ।

उनले अहिले स्थायी समिति बैठकमा बाहिर आएजस्तो प्रचण्डको नेतृत्वको विकल्प खोज्ने कुरा नभएको र सबैले प्रचण्डकै नेतृत्वमा पार्टी अगाडि बढ्नुपर्ने भनाई राखेको बताइन् ।

उनले जनयुद्धको नेतृत्वकर्ता, शान्ति प्रक्रियाको नेतृत्वकर्ता र समकालिन राजनीतिको नेतृत्वकर्ता भएको कारण र सक्रिय नेता भएको कारण अहिले प्रचण्डको नेतृत्वको विकल्पको बारेमा सोच्ने बेला नभएको बताइन् ।

उनले पार्टीको आन्तरिक बैठकमा हुने विचार र विधिको बसहलाई बाहिर अनावश्यक रुपमा प्रचार गर्ने र बढाइचढाई गर्ने कुराले राम्रो नहुने बताइन् । उनले स्थायी समिति बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले पनि अहिले प्रचण्डको विकल्प खोजेको नभई विधिको विकास गर्न जरुरी भएको विचार राखेको बताइन् ।

अर्का स्थायी समिति सदस्यले पार्टीभित्र हुने छलफलबाट कोही पनि तरंगित हुन नहुने बताउँदै पार्टी प्रचण्डकै नेतृत्वमा एक ढिक्का भएर पुनिर्माणसहित सुदृढ भएर जाने विश्वास व्यक्त गरे ।

स्थायी समिति बैठकमा हालसम्म २५ जनाले धारणा राखीसकेका छन्। बैठक आज पनि जारी रहने बताइएको छ ।