डेंगुकाे संक्रमण बढ्दाे, तनहुँका ७५४ जना संक्रमित

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन

महामारीको रूपमा बढ्दै गरेको डेंगुकाे संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७ सय ५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् ।

व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गु पुष्टि भएको छ।

तनहुँमा चार दिनअघिसम्म जम्मा ११० जनामा डेङ्गु संक्रमण थियो। पछिल्लो ४ दिनमा तीव्र रुपमा बृद्धि भएको हो।

जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गु पुष्टि भएको हो। डेङ्गु सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ ।