नक्कली भुटानी शरणार्थी प्रकरण छानविन गरेका सिआइबी प्रमुख ज्ञवालीलाई हटाइयो, थापालाई जिम्मा

मूलखबर संवाददाता
काठमाडौं, २३ साउन ।

सरकारले केन्द्रीय अनुसन्धान व्युरो सिआइबीका प्रमूख एआइजी श्याम ज्ञवालीलाई सिआइबी प्रमूखबाट बर्खास्त गरेको छ । नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धानमा मुख्य जिम्मेवारी लिएर अनुसन्धान गरिरहेका एआइजी ज्ञवालीलाई नयाँ सरकार गठन भएपछि सोही अनुसन्धान प्रभावित गर्नको लागि हटाउने चर्चा भइरहेका बेला सरकारले हिजो उनलाई हटाएको हो ।

उनलाई सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको लगायतको अभियोग लगाइएको छ । उपरोक्त अभियोगमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को प्रमुखबाट हटाइएको गृहमन्त्रीको दावी छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ ।

एक मन्त्रीका अनुसार ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको हो । प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण वज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरुवा गरिएको छ । हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आ्जु देउवा र केपी ओलीका स्वकीय सचिव राजेश शाक्यको संलग्नता पुष्टि भएको भन्दै अनुसन्धानमा लागेको बेला कांग्रेस एमालेको समिकरण बनेको समाचार आएको थियो । सोही कारण ज्ञवालीलाई हटाउने निर्णय सरकराले लिएको विश्लेषण गरिएको छ । यो निर्णयपछि शरणार्थी काण्डको अनुसन्धान प्रभावित हुने आशंका प्रतिपक्षी दलहरुले गरेका छन् ।