पृथ्वी सुब्बालाई लागेकाे मापदण्डकाे डण्डा विष्णु पाैडेललाई किन लागेन ?

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन

नेकपा एमालेले सचिवालय बैठकबाट नेताहरूकाे जिम्मेवारी हेरफेर गरेपछि त्यस विषयमा पार्टीभित्रैैबाट असन्तुष्टि प्रकट हुन थालेकाे छ । विशेष गरेर नयाँ प्रदेश इन्चार्जको नाम ल्याउँदा बनाइएको मापदण्ड व्यक्तिअनुसार फरक गरिएपछि एमालेमा विवाद छताछुल्ल भएको हाे ।

सचिवालय बैठकमा  ‘पदाधिकारीहरुले नै इन्चार्ज भएर काम गर्छु भनेका थिए । तर प्रस्ताव गरिएको नामहरु कुनै मापदण्ड बमोजिम थिएन’, एक सचिवालय सदस्य भन्छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहित कतिपय नेताहरुलाई सरकारमा गएको भनेर पार्टीको कुनै जिम्मेवारी दिइएन । तर उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको हकमा त्यो मापदण्ड लागू गरिएन । पौडेलले संगठनात्मक कामको अनुगमन र पार्टी सम्बद्ध विभागहरुको संयोजन गर्ने भूमिका पाएका छन् ।

हुन पनि चुनाव जित्नेलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी नदिने भनेर गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा र रघुबीर महासेठको प्रदेश इन्चार्ज पद खोसियो । तर त्यही बैठकले मधेशको इन्चार्जको हैसियतमा पुर्‍याउन सांसद लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा बढुवा गर्‍यो ।

बिहीबारकै बैठकबाट १७ जना नयाँ केन्द्रीय सदस्य मनोनित हुँदा ३५५ जना पुगेको केन्द्रीय कमिटीका नेताहरुको जिम्मेवारीबारे निर्णय लिदा केही पदाधिकारीले चर्कै असन्तुष्टि पोखेका थिए ।

‘नेताहरुको जिम्मेवारीबारे छलफल गर्ने र एउटा आधारमा निर्णय लिने अवस्था नै थिएन’, एक नेताले भने, ‘लगभग भइसकेको निर्णयलाई औपचारिकता दिने जस्तो भयो ।’

अरु पदाधिकारीले प्रदेश सहित भूगोल र गैरभूगोलको जिम्मेवारीमा राखेको प्रस्ताव सुनुवाइ भएन । ‘योगेशलाई कोशी, रघुवीरलाई मधेश, पद्‍मालाई गण्डकीमै हुँदा राम्रो हुन्छ । किनकि लुम्बिनीमा अरु दुई जना सचिव हुनुहुन्छ । गोकर्ण र छविलाललाई मिलाएर जिम्मा दिनु राम्रो हुन्छ’, बैठकमा सुरेन्द्र पाण्डेले भनेका थिए । तर उनकाे कुरा हावामा उडाइयाे ।

गत वर्ष सुवास नेम्वाङको निधन भएपछि एउटा उपाध्यक्ष पद रिक्त थियो । साे पदमा कसलाई लैजाने भनेर छलफल नै नगरी ओलीले आफू निकट नेता गुरुप्रसाद बराललाई  एकैपटक उपाध्यक्ष पदमै बढुवा गरे ।  त्यो पदमा बराललाई मनोनीत गर्दा नेताहरुले चित्त बुझ्ने कुनै आधार बैठकमा प्रस्तुत गरिएन ।

पार्टी सचिव गोकर्ण विष्टले त रिसाएरै बोलेका थिए । नेतृत्वले सही निर्णय लिन चुक्न नहुने सुझाव दिएका विष्टले लाइब्रेरी हेर्ने जिम्मा दिए पनि हुने बताएका थिए । ‘मलाई जहाँको जिम्मेवारी आउँछ, त्यो कुशलतापूर्वक निर्वाह गरेको छु । यसपटक लाइब्रेरी विभागको जिम्मा दिँदा पनि हुन्छ’, विष्टले भनेका थिए । तर उनलेे पनि साे भुमिका पाएनन् ।