एमालेले गर्याे प्रदेश इन्चार्जकाे जिम्मेवारी हेरफेर, १० भाइलाई दिइएन जिम्मेवारी, काे काे बने इन्चार्ज ?

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन

सत्तारूढ दल नेकपा एमालेले पार्टीको आन्तरिक जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । पार्टीको पछिल्लो सचिवालय बैठकले प्रदेश इन्चार्जहरूकाे हेरफेर गरेको हाे ।

तर प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने निर्णयमा नेताहरुको असन्तुष्टि देखिएको छ । सचिवालय बैठकले कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्‍मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । साे निर्णय मापदण्ड नबनाई गरिएको भन्दै बैठकमै असन्तुष्टि देखिएकाे एक सचिवालय सदस्यले बताए ।

गत वर्ष भने प्रदेश इन्चार्ज बनाउन पार्टी सचिवको मापदण्ड तय गरिएको थियो । जसअनुसार कोशीमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा टोपबहादुर रायमाझी (उनी जेल परेपछि गुरुप्रसाद बराल), गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्‍मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज थिए ।

गत वर्ष आफ्नो  भूगोलमा नबस्ने नीति अन्तर्गत पार्टी सचिवहरु फरक प्रदेशको इन्चार्ज भएर खटिएका थिए । केही सचिवहरुले त यो अवधिमा एक भन्दा बढी प्रदेशको इन्चार्ज भएर समेत काम गरेका थिए ।

मापदण्ड बनाएर नेताहरुलाई जिम्मेवारी दिने, फरक भूगोलमा परिचालन गर्ने, संगठनलाई चुस्त बनाउने जस्ता नीति एमालेले मिसन–०८४ कै लक्ष्य बमोजिम गरेको थियो । तर यसपटकको जिम्मेवारी बाँडफाँडमा कुनै मापदण्ड लागू गरिएन ।