सिग्देल बने कामु सेनापति, मन्त्रिपरिषदले गरेका अरू निर्णयहरू के हुन् ?

मूलखबर संवाददाता
काठमाडौं, १६ साउन

सरकारले नेपाली सेनाको कायममुकायम (का.मु.) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई का.मु. प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेका छन् ।

बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ का लागि राजपत्राङ्कित श्रेणी वा सो सरहका जम्मा ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए । उनले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरूको सरुवा गरेको बताए ।

जसमा रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय, अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय, गोकर्णमणि सुवेदी राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी, सुरेश आचार्य जल तथा ऊर्जा आयोगको सचिवालयमा सरूवा गरिएको छ ।

त्यसैगरी  भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रमिलादेवी बज्राचार्य खानेपानी मन्त्रालय, मधुसुदन बुर्लाकोटी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव, डा. रामप्रसाद घिमिरे अर्थ मन्त्रालय सचिव, किरणराज शर्मा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, डिल्लीराम शर्मा लोकसेवा आयोगमा सचिव, रामकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ ।

त्यसैगरी गाेपालप्रसाद सिग्देल ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, रामेश्वर दंगाल रक्षा मन्त्रालय, मुकुन्दप्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सर्जुकुमार वैद्य प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र, नारायणप्रसाद शर्मा हुमागाईँ राष्ट्रपतिको कार्यालय, केशवकुमार शर्मा बिडारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लगिएको छ ।

सरकारले रामआधार साह नेपाल ट्रस्टको कार्यालय, सचिव, घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दिनेशकुमार घिमिरे अर्थ मन्त्रालयको राजश्व सचिव, राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवमा सरुवा गरेको हो ।