रातभरि अत्यधिक वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन लगातार अलर्ट नाेटिस

मूलखबर संवाददाता
काठमाडौं

मंगलबार रातीदेखी बुधबार बिहानसम्म परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित धेरै जिल्लामा जनजिवन प्रभावित बनेको छ ।

जल तथा माैसम विज्ञान विभागले मंगलबार मध्यराति देखि लगातार अलर्ट नाेटिस जारि गरिरहेकाे छ ।

बुधबार बिहानसम्म नै सतर्कता अपनाउन भन्दै जारी गरिएको नाेटिसमा काठमाडौंकाे विष्णुमती, भक्तपुरकाे हनुमन्ते, ललितपुरकाे गाेदाबरी रामेछापकाे लिखु, सिन्धुलीको कमला नदीमा जलसतह अत्यधिक बढेकाे र बढ्ने क्रममा रहेकाले बुधबार बिहानसम्म तटिय क्षेत्रमा डुबान हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

हेराै केही अलर्ट नाेटिस-

साउन १६, राती १२:२० बजे
सिन्धुली जिल्लाको कमला नदी, रानीबास स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो छ, तटीय क्षेत्र तथा डुबान भईरहने भूभागहरूमा रहनुहुनेहरूले बिहान सम्मै उच्च सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि

साउन १६, बिहान १२:५० बजे
रामेछाप जिल्ला स्थित लिखु खोला, साँघुटार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनुहुनेहरूले बिहान सम्मै उच्च सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि

साउन १६, बिहान १:३० बजे
काठमाडौँ स्थित विष्णुमती नदी जलमापन केन्द्रमा जलसतह हाल खतरा तह आसपास रहेको र थप बढ्न सक्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा रहनुहुनेहरुले बिहान ७ बजे सम्म उच्च सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि

साउन १६, बिहान २:२० बजे
ललितपुर जिल्ला स्थित गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले उक्त क्षेत्रमा रहनुहुनेले भोलि विहान ९ बजे सम्म उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ।
जल तथा मौ वि वि

साउन १६ विहान ५ बजे
राती ११ बजे देखि का. उपत्यकाको धेरै स्थानमा भारी बर्षा भएको। हाल बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला,गोढावरी ,विष्णुमती, नख्खु, बल्खुखोला लगायत सबैमा जलसतह सतर्कता तह देखि खतरा तह पार गरेको छ। खोलाको बाढी किनारको सडक सम्म आउने र बस्तीमा डुवान समेत हुन सक्ने देखिएकाले सडक किनारबाट यात्रा नगरौ। डुवान हुने स्थानमा रहनेहरू बिहान १० बजे सम्म सुरक्षित स्थानमा रहौ ।
जल तथा मौ वि. वि.