सिमलताल पहिराेले त्रिशूलीमा वेपत्ता बस भेटिने सम्भावना न्यून, अहिलेसम्म २२ वटा गाडी वेपत्ता

मूलखबर संवाददाता
चितवन, १४ साउन

मुग्लिङ नारायणगढ सडकखण्ड अन्तरगत चितवन जिल्लाकाे सिमलतालमा मध्यरातमा आएकाे लेदाेसहितकाे पहिराेले १८ दिन अगाडि देखी त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ ।

नेपाली र भारतीय गोताखोर तथा प्राविधिकको प्रयास दुर्घटना भएको १७ औँ दिनसम्म पनि असफल भएपछि सम्भावना क्षीण देखिएको हो ।

बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ भएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन । गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठामाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराइरहेका हुन् ।

यसर्थ यी दुई बस पनि हालसम्म नभेटिएकाको सूचीमै परेका छन् र यसअघि त्रिशूलीमा बेपत्ता भएका र नभेटिएका छ वटा सवारीसाधनको सूचीमा थपिन लागेका छन् ।

२०४९ सालयता त्रिशूलीमा २२ वटा सवारीसाधन हराइरहेका छन् । २०४९ सालमै सिमलतालबाट ४२ यात्रुसहित बेपत्ता भएको यात्रुवाहक बस अझैसम्म फेला पर्न सकेको छैन ।

यस्तै पूर्वगृहमन्त्री माधव घिमिरेसहित तीन जना यात्रु रहेको बा ९ ख १५३१ नम्बरको स्कोरपियो २०७३ असोज ९ गते त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । सशस्त्र प्रहरी बल आँपटारीका अनुसार आव २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार, २०७५/७६ मा चार, २०७६/७७ मा एक, २०७७/७८ मा एक, २०७९/८० मा एक र २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा बेपत्ता भएका छन् । यस आधारमा गत असार २८ गते हराएका बस पनि फेला नपर्ने सम्भावना बढेको छ ।

तथापि स्थानीय प्रशासनले खोजी कार्य जारी राख्ने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार पत्रकार सम्मेलन गर्दै हराइरहेका गाडी फेला पर्न नसकिएको जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले भने खोजी कार्य निरन्तर जारी राख्ने बताउनुभएकाे खबर गाेरखापत्रमा छ ।