माओवादी केन्द्रकाे बैठकमा सिमारहित समीक्षा र छलफल, बैठक अझै लम्बिने

मूलखबर संवाददाता
काठमाडौं, १४ साउन
पहिलोपटक प्रमुख प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले सिमारहित समीक्षा र छलफल चलाएकाे छ। सत्ता साझेदार रहेको नेकपा एमालेले अकस्मात् प्रतिनिधि सभाकाे ठूलाे दल नेपाली कांग्रेससँग सत्ता समिकरण गरेपछि प्रमुख प्रतिपक्षी भूमिकामा रहेको माओवादी केन्द्रले यतिबेला केन्द्रीय पदाधिकारी बैठक चलाइरहेको छ ।
पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा जारी बैठकमा माओवादी केन्द्रले विगतकाे निर्मम समीक्षा गरि आगामी कार्ययोजना तय गर्न लागेकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा मुख्य गरेर पार्टी रूपान्तरणको विषयमा छलफल चलेको प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे- ‘यतिबेला हाम्रो मुख्य ध्यान पार्टीलाई नयाँ ढंगबाट रूपान्तरण गर्ने र  नयाँ कार्यक्रम सहित जनतामा लैजानेमा केन्द्रित छ’ ।
सापकोटाका अनुसार बैठककाे मुख्य उद्वेश्य नै कमजोरीहरुको समीक्षा गरेर नयाँ कार्यक्रम तयार पार्नु रहेको छ । ‘कहाँ कमजोरी भयो, कसरी सुधारेर जान सकिन्छ भन्नेबारे गम्भीर समीक्षा भइरहेको छ । बलियो र सशक्त प्रतिपक्षी भूमिका तयार पार्नकै निम्ति पदाधिकारीलाई खुलेर कुरा राख्न दिइएको उहाँले बताउनुभयाे ।  ‘सीमारहित छलफल चलिरहेको छ । जसले जति समय लिन मन लाग्छ, उति बोल्ने भन्ने छ’, प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले भने ।
अध्यक्ष प्रचण्डले नै खुलेर आफ्नो कुरा राख्न भन्नुभएकाे छ। ‘पदाधिकारीको बैठकले पुग्दैन भने स्थायी कमिटी र आवश्यकता पर्छ भने केन्द्रीय कमिटीको लामै बैठक चलाउने अध्यक्ष कमरेडले संकेत गरिसक्नुभएकाे छ, एक नेताले भने ।

बैठकमा पार्टीबाट विगतमा भएका कमजोरी, सरकारमा हुँदा गरेका राम्रा कामहरुको विवरण र नयाँ कार्यक्रमबारे पदाधिकारीहरुले विस्तृतमा कुरा राख्ने भनेरै पदाधिकारी बैठक लम्बिरहेको छ । जसले जति पनि समय लिने भन्ने छुट पाएकैले शुक्रबारबाट सुरु भएको पदाधिकारी बैठकमा आइतबारसम्म आधा पदाधिकारी मात्र बोलेका छन् ।

बैठकको पहिलो दिन शुक्रबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरु चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले बोलेका थिए । शनिबारको बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले विषय राखेका थिए ।

आइतबारको बैठकमा उपमहासचिव जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवहरु गणेश शाह, हितमान शाक्य र कोषाध्यक्ष श्रीराम ढकालले छलफलमा भाग लिएका थिए । २२ पदाधिकारीमध्ये अझै ८ जनाले बोल्न बाँकी छ ।