बक्यौता नतिर्ने ६ उद्योगको बिजुली जोड्ने प्राधिकरणको निर्णय, दुई सदस्यको असहमति

मूलखबर संवाददाता
काठमाडौं, ८ साउन ।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने ५ वटा उद्योगको काटिएको विजुली जोड्ने निर्णय गरेको छ । प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली जोडिदिने भएको छ । निर्णयमा  दुई सदस्य भक्तबहादुर पुन र कपिल आचार्यले असहमति जनाएका छन् ।

हालसम्मको बिजुली महसुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरिएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाईन तत्काल जोड्न निर्देशन जारी गरेका थिए । प्रधानमन्त्रीको निर्देशनलाई प्राधिकरणका कार्यकारी निर्देशकले बयौता नतिरेसम्म लाईन जोड्न नसकिने भन्दै अवज्ञा गरेपछि सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

निर्णयमा सञ्चालक समितिका दुई सदस्य भक्तबहादुर पुन र कपिल आचार्यले निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट जनाएका थिए ।