प्रधानमन्त्री नै विचौलीया र कमिसनको खेलमा लागेको देखियो : सांसद दाहाल

मूलखबर संवाददाता
काठमाडौं, ७ साउन

प्रमूख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नै विचौलिया र कमिसनको खेलमा लागेको देखिएको आरोप लगाएका छन् । उनलेले संसदको सोमबारको बैठकको शुन्य समयमा बोल्दै प्रधानमन्त्रीले कमिसनको खेलमा लागेर विद्युत प्राधिकरणलाई उद्योगहरुलाई २२ अर्ब राजश्व छुट दिन दबाब दिएको बताएका थिए।

बैठकपछि पनि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिशनमा लागेर उद्योगहरुको विद्युत महशुल मिनाहा गर्न लागेको बताएका हुन् ।

उनले विद्युत प्राधिकरणले कानूनसम्मत रुपमा वक्यौता नतिर्ने उद्योगहरुको विद्युत काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा वक्यौता नतिरिकन विद्युत जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताए । उनले महशुल नतिर्ने उद्योगहरुलाई मिनाहा गर्ने हो भने महशुल तिरेका उद्योगहरुको पनि महशुल फिर्ता गर्नुपर्ने बताए ।

सांसद दाहालले प्रधानमन्त्री ओलीले विचौलियाको दबाब र प्रभावमा परेर विद्युत जोड्न आदेश दिएको भन्दै विद्युत प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । उनले विद्युत प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने बताए ।