तपाईंको लाइसेन्स सक्कली कि नक्कली ? सावधान ! फसिएला, यसाे गर्नुस् ।

मूलखबर संवाददाता
काठमाडौं, २४ असार

तपाईं लाइसेन्स सक्कली कि नक्कली ? ०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद भेटिएका छन्, यस अवधिमा तपाईंले दलाललाई पैसा खुवाएर लाइसेन्स बनाएको भए त्यो नक्कली हुन सक्छ । यसबारे पहिल्यै प्रहरी, यातायात व्यवस्था विभाग वा सम्बन्धित यातायात कार्यालयमा गएर जानकारी गराउनुभयो भने पक्राउ पर्नबाट जोगिन सक्नुहुनेछ ।

विभागले समिति बनाएर गरेको अनुसन्धानबाट उल्लिखित परिमाणका लाइसेन्स नक्कली रहेको प्रतिवेदन तयार पारेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली लाइसेन्सबारे गरिरहेको अनुसन्धानका क्रममा सम्बन्धित यातायात कार्यालयका कर्मचारी र दलालको संलग्नतामा यस्तो काम भइरहेको पाइएको छ । नक्कली लाइसेन्स बनाएकै आरोपमा सीआईबीले पक्राउ गरेका ६ जनालाई अनुसन्धान सकेर आइतबार सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरेसँगै थुनछेक बहस सुरु भएको छ । पक्राउ पर्नेमा उपसचिव र अधिकृत तहका कर्मचारी पनि छन् ।

पक्राउ पर्ने उपसचिवमा स्याङ्जा, चापाकोट–९ का यातायात कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख केशव अर्याल हुन् । उनी हाल लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । त्यस्तै पक्राउ पर्ने अन्यमा नवलपरासी, रामग्राम नगरपालिका–५ स्थित ड्राइभरचोक घर भई यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अधिकृत पदमराज आचार्य, पाल्पाको तानसेन नगरपालिका–३, स्थित धोबिधारा घर भई यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन शाखा अधिकृत सुवास पौडेल छन् ।

नवलपरासी गैंडाकोट घर भई यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल, सिरहा मिर्चैया–१, घर भएका यातायात व्यवस्था कार्यालय जनकपुर धुनषामा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साह र सिन्धुलीका केशव पौडेल पनि पक्राउ परेका छन् । नक्कली लाइसेन्स बनाउन संलग्न केही कर्मचारी र केही दलाल अझै फरार रहेकाले तिनको खोजी भइरहेको सीआईबीले जनाएको छ । पक्राउ परेका सबैलाई अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा पेस गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।