त्रिभुवन विश्वविद्यालयसहित विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, १७ भदौ

सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा‍. डा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । शिवाकोटी त्रिवि शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. तारादत्त भट्ट नियुक्त भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदीप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारी लगायत उपस्थित थिए ।