एमालेले डाक्याे संसदीय दलकाे बैठक
नेपाली कांग्रेससँग नयाँ सत्ता समिकरण बनाउन लागेकाे नेकपा (एमाले)ले आज संसदीय दलको बैठक डाकेकाे छ । प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेस र एमाले बीचको सहमतिबारे सांसदहरूलाई जानकारी दिन बिहान १० बजे संसदीय दलको बैठक बस्न लागेकाे हाे ।
संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनेछन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। तर अहिलेसम्म त्याे सहमतिकाे पत्र सार्वजनिक गरिएको छैन ।
समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन्। कांग्रेस—एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गरेर राजनीतिक स्थायित्व दिने विषयमा सहमति भएको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।