जितपुरसिमरा उपमहानगरसभा सम्पन्न, ताेडफाेड, गुन्डागर्दी र अराजकतालाई छाडिन्न : प्रमुख पाैडेल

मूलखबर संवाददाता
काठमाडौं, ११ असार ।

बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिकाको १०औं नगरसभा सम्पन्न भएको छ । नगरसभामा विपक्षीहरूले गरेको निरन्तरकाे अवराेधका बाबजुद विधिवत रूपमा नगरसभा सम्पन्न गरेकाे नगर प्रमुख राजन पाैडेलले बताएका छन् ।

संविधान अनुसार असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने उपमहानगरकाे नगरसभामा विपक्षीहरूले ताेडफाेड र अराजकता मच्चाएपछि नगरसभा विथाेलिए पनि विधिवत रूपमा नगर सभा सम्पन्न गरिएको पाैडेलकाे दावी छ ।

उपमहानगरपालिका प्रमुख राजन पाैडेलले आव्हान गरेको नगरसभामा दुइपटकसम्म सहभागी नभएको तथा विधिसम्मत तेस्रोपटक आव्हान भएको नगरसभामा पनि नआउने र आउन चाहनेलाई समेत राेक्ने हर्कत विपक्षीहरूले गरेकाे नगर प्रमुख पाैडेलले बताएका छन् । उनले बैधानिक व्यवस्था अनुसार पहिलो र दाेस्राेपटक गणपुरक संख्या नपुगेमा तेस्रोपटक उपस्थितकाे बहुमतले पारित हुने व्यवस्था भएकोले आफुले विधि र विधान अनुरूप नै नगरसभा सम्पन्न गरेको दावी गरेका छन् ।

उनलेे भनेका छन्- नियमसम्मत तरिकाले नगरसभाले आफ्नो संवैधानिक एवं कानुनी कर्तव्य पुरा गरिसकेको छ। नगर सभालाई असफल गराउन कोशिस गर्ने को को हुन भन्ने कुरा सभा हल भित्रै र सभा हल परिसर तिर भएको गतिविधिमा आदरणीय नगरवासीहरुले सामाजिक संजाल एवं संचार माध्यम मार्फत जानकारी पाउनुभएकै छ।

उनी भन्छन्-  विधिसम्वत सभामा उपस्थिति भइ आफ्नो बिषयहरु सभामा बिधीसम्वत नै राख्ने आँट नभएपछि २ पटक बोलाइएको सभामा वैधानिक एंव भौतिक समेत उपस्थिति नभई सभा असफल बनाएको र तेस्रो पटक बोलाएको सभा सफल हुने सुनिश्चित भए पछि सभा सदस्यहरुलाई सभामा सहभागी हुन रोक्ने, धम्काउने कार्य समेत गरियो।

सभा राेक्न असफल भएपछि सभाहलमा वैधानिक तरिकाले उपस्थिति नजनाइ अनाधिकृत तरिकाले अनाधिकृत मानिसहरू सहित प्रवेश गरी/गराइ सभा हल तोडफोड गरेको  गराएको उनको भनाइ छ । उनले यस्तो गुण्डागर्दी र अराजकतालाई नगरपालिकाले सहकार्य र सम्झौता नगर्ने बताएका छन् । उनलेे भने-  यस्तो कार्यलाई नगरले दमन र परास्त गर्ने छ। वहकाउमा पर्नु भएका नगरसभा सदस्य एवं कार्यापालिका सदस्यहरु संग सभाको निर्णयको मातहत रहेर छलफल र सहकार्य गर्न हामी तयार नै छौ ।