मेक्सिकोमा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

मूलखबर संवाददाता
काठमाडौं, २२ जेठ

मेक्सिकोकाे इतिहासमै पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी छिन् ।

मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षीया क्लाउडिया शियनबम पहिलोपटक राष्ट्रपितमा निर्वाचित भएकी हुन् । उनले आगामी अक्टोबर १ देखि पदभार सम्हाल्नेछिन्।

संयुक्त राज्य अमेरिकासँग सिमा जाेडिएकाे मेक्सिको पटक पटक चर्चामा आइरहन्छ । कहिले अमेरिकाले पर्खाल लगाउने त हहिले आप्रवासीहरूकाे पैदल भिडले चर्चामा आउने मेक्सिको यसपटक महिला राष्ट्रपति निर्वाचित भएपछि फेरि चर्चामा छ।

त्यहाँको निर्वाचनसम्बन्धी निकायका अनुसार प्रारम्भिक नतिजाले मेक्सिको सिटीकी ६१ वर्षीया पूर्वमेयरले करिब ६० प्रतिशत मत पाएको देखिएको छ।

त्यो भनेको उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले भन्दा करिब ३० प्रतिशत बढी मत पाएकी हुन्।

राष्ट्रपतिनिर्वाचित शेन्बाउमले आफ्ना मार्गदर्शक एवं बाहिरिन लागेका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेस ओबराडोरलाई अक्टोबर १ तारिखमा विस्थापित गर्नेछिन्।

राष्ट्रपतिका लागि चुवानी मैदानमा ओर्लिनुअघि शेन्बाउम मेक्सिको सिटीकी मेयर थिइन्।

मेक्सिकोको मेयर पद त्यहाँका सबैभन्दा प्रभावशाली राजनीतिक पदमध्ये एउटा हो। सोही पदले राष्ट्रपतिका लागि बाटो खोलेको रूपमा हेरिन्छ।

नाजीको डरका कारण शेन्बाउमका यहुदी मावली हजुरबुवा बुल्गेरीआबाट मेक्सिको बसाइँसराइ गरेका थिए। उनका हजुरबुवा चाहिँ लिथुआनीआका थिए।

राजनीतिमा प्रवेश गर्नुअघि वैज्ञानिकका रूपमा शेन्बाउमले काम थालेकी थिइन्।

वैज्ञानिक आमाबुवाकी सन्तान शेन्बाउमले भौतिकशास्त्र अध्ययन गरेपछि ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरिन्।

क्यालिफोर्निआस्थित एउटा प्रतिष्ठित अनुसन्धान प्रयोगशालामा उनले मेक्सिकोको ऊर्जा उपयोग प्रवृत्तिबारे कैयौँ वर्षसम्म अध्ययन गरिन् र जलवायुसम्बन्धी विषयमा विज्ञ पनि बनिन्।

सन् २०१८ मा उनी मेक्सिकोकी प्रथम मेयर बनिन् र राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा आउनुअघि उनले सन् २०२३ सम्म मेयर पद सम्हालिन्।- बीबीसीकाे सहयाेगमा