जुम्लाका युवा मर्स्याङदी नदीमा पाैडी खेल्दा बगेर बेपत्ता

मूलखबर संवाददाता
लमजुङ, २७ चैत

लमजुङमा मर्स्याङदी नदीमा डुबेर एक युवा वेपत्ता भएका छन् । गलैंचा बेच्दै लमजुङ आएका जुम्लाका एक युवा पाैडि खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाएको हाे ।
सुन्दरबजार नगरपालिका ९ भोटेओडारको फूलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो उनी बेपत्ता भएका प्रहरीले बताएको छ ।
बेपत्ता हुने युवा जुम्लाको सिंजा गाउँपालिका १ निवासी ४५ वर्षिय नन्दबहादुर आचार्य रहेकाे खुलेको प्रहरीले जनाएको छ । उनलाई  मर्स्याङ्दी नदीले बगाउँदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार ४ जना साथीहरु मिलेर पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा आचार्यलाई बगाएको घलेले बताउनुभयो ।
उहाँका अनुसार अन्य ३ जना साथीहरु छेउछाउमा पौडी खेलिरहेको अवस्थामा आचार्य भने पौडी खेल्दै मर्स्याङ्दी तरेका थिए । फर्किने क्रममा भेलले बगाएको उहाँले बताउनुभयो ।
आचार्यसंगै गएका साथीहरुसँग वुझ्दा आचार्यले मादक पदार्थ सेवन गरेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । मंगलबार दिउँसो सवा १ बजेको समयमा आचार्यलाई मर्स्याङ्दीले बगाएको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।