फागुन ३० वा त्यसअघि नै विश्वासको मत, यस्तो छ प्रचण्डको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते वा त्यसअघि प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेकाहरूको शपथ लिने र त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गतेभित्र विश्वासको मत लिने तयारीबारे जानकारी गराएका थिए ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।
यद्यपि, घटनाक्रम अनुसार प्रधानमन्त्रीले त्यसअघि नै आवश्यक ठानेको खण्डमा २७/२८ गते नै विश्वासको मत लिनसक्नेबारे पनि प्रधानमन्त्रीले बैठकमा ब्रिफिङ गरेका थिए।
पार्टीका प्रमुख सचेक समेत रहेका सांसद हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघिसम्म सांसदहरूलाई ह्वीप लगाइएको बताए।
‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ।’
संसदीय दलको बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा पनि विश्वासको मत लिनका लागि प्रतिनिधि सभा सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।