रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उनले हाम्रो देश विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोका रुपमा जोडेर लैजानुपर्ने बताइन्।
रेडक्रस, ब्लड डोनर्स एसोसिएसनजस्ता सामाजिक संस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले त्यसलाई देशकै अभियानका रुपमा निरन्तर सञ्चालन गर्नुपर्ने बताइन् ।