सरकार बनाउने र भत्काउने धन्दामा कांग्रेस लाग्दैन : विश्वप्रकास शर्मा

मूलखबर संवाददाता
काठमाडौं, २६ फागुन ।

वामपन्थीहरुसहितको नयाँ गठबन्धन बनेर सत्ता बाहिर परेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् ।

शनिबार पार्टीको पदाधिकारी बैठकपछि महामन्त्री शर्माले कांग्रेसले घरघरमा पुगेर देउसी खेल्ने र सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरे । कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने उनको भनाइ छ । उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने बताए ।

उनले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने प्रष्ट धारणा बनाएको बताए । ‘हामीले सभापतिज्युलाई भनेका छौँ । अहिले हामी सरकार बनाउने वा भत्काउने भन्ने खेलमा लाग्दैनौँ । यो गठबन्धन जे बनेको छ, यसले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भन्ने अभियोग छ,’ उनले भने ।

उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुमध्ये सबैले राम्रै-राम्रो गर्न नसकेको स्वीकार गर्दै केही पनि नगरेको भन्न नमिल्ने बताए ।

‘मन्त्रीले काम गर्नका लागि, रिजल्ट देखाउनका लागि कम्तिमा एक वर्षको समय पाउनुपर्थ्यो, यतिकै कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् भनेर प्रधानमन्त्रीले पन्छिन मिल्ने कुरा होइन’ उनको भनाइ थियो ।