बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको बसको ठक्करबाट मृत्यु
बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको नवलपुरमा बसको ठक्करबाट निधन भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको ६३ वर्षको उमेरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेकf पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।
उहाँ चितवन भरतपुर महानगरपालिका–१७ बेलुवाका स्थायी बासिन्दा हुनुहुन्छ । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत हुनुहुन्थ्यो ।
बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।