दुई मुस्लिमबीच वैमनस्यताः इरान-पाकिस्तान भिडन्तमा चीनको मध्यस्थता प्रस्ताव

मूलखबर संवाददाता
काठमाडौं

गत मङ्गलवार अबेर इरानले पाकिस्तानी भूमिमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप पाकिस्तानले इरानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। पाकिस्तानको प्रत्याक्रमणमा इरानतर्फ कम्तीमा नौ जनाको ज्यान गएको विवरण आएको छ।

पाकिस्तानले क्षेप्यास्त्र प्रहार गरेर इरानको सिस्तान-बलुचिस्तान प्रान्तस्थित “आतङ्ककारीका शिविरहरू” ध्वस्त पारिएको दाबी गरेको छ।

इरानको सरकारी टेलिभिजनले चार बालबालिकासहित नौ जनाको मृत्यु भएको जनाएका छन्। मृतकमध्ये तीन महिला पनि छन्।

उक्त कार्यको इरानले कडा शब्दमा निन्दा गर्दै तेहरानस्थित पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्सलाई विदेश मन्त्रालयमा बोलाएर विरोध जनाएको छ।

मध्यपूर्वमा एकपछि अर्को गरी विभिन्न स्थानमा द्वन्द्व उत्पन्न भइरहेकै बेला इरानमाथि पाकिस्तानले प्रत्याक्रमण गरेको हो। इजरेलले गाजामा प्यालेस्टिनी समूह हमासँग लडिरहेको छ भने लेबननस्थित इरान समर्थित हिजबुल्लाहसँग पनि उसको द्वन्द्व जारी छ।

इरानबाट समर्थन प्राप्त समूहहरूले इराक र सिरियामा अमेरिकी सेनालाई निसाना बनाइरहेका छन्। यूके र अमेरिकाले यमनमा इरान समर्थित हूथी विद्रोहीहरूमाथि आक्रमण गरेका छन्।

हूथी लडाकुहरूले रेड सीमा कार्गो पानीजहाजहरूमा आक्रमण गरिरहेका छन्। पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएका छन्।

ती समूहहरूले एउटा देशबाट अर्को देशतर्फ आक्रमण गर्ने गरेका छन्।

यसैबीच पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतंकवादी लडाकुलाई लक्षित गरी हाल भएका आक्रमणपछि बिहीबार मध्यस्थता गर्न इच्छुक रहेको चीनले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।”

उनले भने, “यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौँ ।

आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसंख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।