जापानको विमानस्थलमै दुई विमान ठोक्किँदा कम्तिमा ५ को मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो ।

मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले जापानका यातायातमन्त्रीलाई उद्धृत गर्दै जनाएको छ ।

 सोमबारको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रमा खाद्यान्न लैजाँदै गरेको कोस्ट गार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमानसँग ठोक्किएको अनुमान गरिएको छ ।

जापान एयरलाइन्सको विमानमा रहेका सबै ३७९ यात्रु र चालक दल पूर्णरूपमा आगो लाग्नुअघि नै भाग्न सफल भएका थिए ।

त्यसमा सवार मानिसहरूको मृत्यु पुष्टि गर्दै प्रधानमन्त्री फुमिओ किशिदाले उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

जापान एअरलाइन्सको यात्रुवाहक विमान अवतरण गरेलगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो।

कोस्टगार्डको सो विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्‍याउन नोतो प्रायद्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाइएको छ।

त्यसअघि जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा जापान एअरलाइन्सको झ्याल र तलपट्टिबाट आएको देखिन्छ।

विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको थियो।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किन सफल भएका थिए।

उनी गम्भीर घाइते रहेको बताइएको छ। विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको थियो। दुई घण्टा भन्दा बढि समयसम्म जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागेको थियो छ।

घटनापछि उक्त विमानस्थल बन्द गरिएको अधिकारीहरूले बताएका छन्। छिटोमा मङ्गलवार नै वा बुधवारसम्ममा विमानस्थल खुला हुने त्यहाँका यातायात मन्त्रीले बताएका छन्