बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई रोजगारी प्रदान गर्न सरकार प्रतिबद्ध
बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई अतिरिक्त क्षतिपूर्ति दिन र उनीहरूले गर्ने प्रकृतिको रोजगारी प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
संसदीय समितिको बैठकमा सांसदरूले उठाएका प्रश्नको जवाफा दिदै बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई उनिहरुले गर्नसक्ने प्रकृतिको रोजगारी दिने बताउनु भयो ।
धेरैजसो सांसदले जीविकोपार्जनका लागि विदेश जान चाहने युवाको सरकारका कारण मृत्यु भएको भन्दै मृतकका परिवारका लागि सरकारले तोकेको १० लाख रुपैयाँको क्षतिपूर्ति कम भएको र परिवारलाई रोजगारीको बाटो दिनुपर्ने विषय उठाएका थिए।
गृहमन्त्री श्रेष्ठले अहिले प्रारम्भिक रूपमा केही अधिकारीलाई निलम्बन गरिएको र अब उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनपछि दोषीलाई कारबाही हुने बताउनु भयो। सोमवार बिहानबाट बसेको बैठकमा गृहमन्त्री र गृह प्रशासनमाथि विभिन्न दलका सांसदहरूले गृहमन्त्रीको नियन्त्रणमा प्रहरी नरहेको हो कि भन्दै प्रश्न गरेका थिए।
सांसदहरूको प्रश्नको उत्तर दिँदै गृहमन्त्री श्रेष्ठले सरकारले पीडितका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गर्न लागेको र त्यसबाहेक परिवारले गर्न सक्ने प्रकृतिको रोजगारी दिन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।