रुस-युक्रेन युद्ध फेरि चर्किने संकेत, मस्को र किएभका फरक फरक स्थानमा आक्रमण
युक्रेनी अधिकारीहरूले रुसले राजधानी किएभ सहितका स्थानमा ड्रोन हमलाहरू गरिरहेको बताएका छन्।
पछिल्ला दुई दिनयता दुवै देशले हवाई माध्यमबाट आक्रमण तीव्र बनाएका छन्।
युक्रेनी राजधानी किएभ र अर्को मुख्य सहर खार्किभमा पनि विस्फोटका विवरणहरू आएका छन्। त्यहाँका मेयरले आवासीय भवनहरूमा आगो लागेको बताए।
युक्रेनले शनिवार रुसको सीमावर्ती सहर बेलग्रटमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिए पछि मस्कोले जबाफी आक्रमण बढाएको छ।
यसअघि दक्षिण-पश्चिम रुसमा युक्रेनले गरेका घातक हवाई हमलाहरूमा २० जना मारिएको मस्कोले जनाएको थियो।
सीमावर्ती बिएलग्रट सहरमा भएका ती हमलामा एक सयभन्दा धेरै मानिसहरू घाइते भएको समेत बताइएको छ।
त्यहाँका क्षेत्रीय गभर्नरका अनुसार मारिनेमध्येमा तीन जना बालबालिका समेत छन्।
यस हमलालाई युक्रेनमा मस्कोले आक्रमण सुरु भए यताकै युक्रेनका तर्फबाट रुसमाथि भएको घातकमध्येको घटनाका रूपमा हेरिएको छ।
शनिवारको उक्त हमला सैन्य पूर्वाधारमा मात्र लक्षित गरिएको एक युक्रेनी स्रोतले दाबी गरेको छ।
मस्कोले शुक्रवार युक्रेनमा ३९ जना मारिने गरी गरेका आक्रमणपछि रुसमा युक्रेनका तर्फबाट हमलाहरू भएको हो।
शुक्रवारका हमलालाई युक्रेनले ‘युद्ध सुरु भए यताकै ठूलो रुसी बमबारी’ भएको बताएको छ।
मस्कोले के भनेको छ?
शनिवारका हमलामा मस्कोले किएभलाई युक्रेनी ओल्खा र चेक गणतन्त्रले बनाइएका भेम्पायर रकेटसहित विभिन्न खालका अस्त्रहरू प्रयोग गरेको आरोप लगाएको छ।
बीबीसीसँग कुरा गरेका युक्रेनी सुरक्षा स्रोतहरूले रुसी निशानामा ७० भन्दा धेरै ड्रोन हमलाहरू गरिएको जनाएका छन्।
उनीहरूले ती हमलालाई “युक्रेनी सहर र नागरिकहरूमा रुसको आतङ्कवादी हमलाको जवाफ” भएको बताएका छन्।
बिएलग्रटको अवस्थाबारे बोल्ने क्रममा उनीहरूले सर्वसाधारणहरू हताहत हुनुमा “रुसी हवाई प्रतिरक्षाको अक्षम काम”लाई दोष लगाएका छन्।
भ्लादिमिर पुटिनलाई हमलाहरूबारे जानकारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ताले बताएका छन्।
सुरक्षा परिषद्को आपत्कालीन बैठक
रुसको आग्रहमा शनिवार न्यूयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को एक आपत्कालीन बैठक बसेको थियो।
जसमा रुसले चेक गणतन्त्रका प्रतिनिधिलाई सहभागी हुन आग्रह गरेको जनाएको थियो।
चेकमा बनेका अस्त्र प्रयोग भएको रुसी दाबीलाई बीबीसीले पुष्टि गर्न सकेको छैन।
उक्त बैठकका क्रममा राष्ट्रसङ्घका लागि रुसी राजदूत भसिली नभियान्जियाले युक्रेनलाई “गैर सैनिक निशानामा नियतवश, जथाभाबी हमला गरेको” आरोप लगाएका छन्।उनको भनाइलाई तत्कालै युक्रेनका साझेदारहरूले अस्वीकार गरेका थिए।
त्यहाँ फ्रान्सका राजदूतले राष्ट्रसङ्घीय कानुन अन्तर्गत रहेर युक्रेनले आफ्नो प्रतिरक्षा गरिरहेको बताए।
अमेरिका र यूके सहित अन्य देशहरूले रुसमा भएका हताहतका लागि द्वन्द्व सुरु गर्ने राष्ट्रपति पुटिन जिम्मेवार रहेको बताए।