प्यालेस्टाइनीको मृत्यु बढ्दै जाँदा भूराजनीतिक तनाव, कहिले रोकिएला गाजा युद्ध
गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ। बेन्जामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन। उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ।
गाजामा इजराइलको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २१ हजारभन्दा बढी पुगिसकेको छ। मृत्यु सङ्ख्या निरन्तर बढ्दै जाँदा अमेरिका जस्ता इजराइलका निकटतम सहयोगीले युद्धबारे आफ्नो स्थितिमा पुनर्विचार गरिरहेका छन्। यद्यपि यो संयुक्त राष्ट्र संघमा उनीहरूको मतमा प्रतिविम्बन भएको छैन।
नेतान्याहु र उहाँको सरकारका मन्त्रीहरूले इजराइलको उद्देश्य हमासलाई विश्वको नक्साबाट हटाउनु रहेको स्पष्ट पारेका छन्। गत अक्टोबर ७ मा इजराइलमा क्रूर आक्रमण गरी एक हजार चार सय इजराइलीलाई मार्ने लडाकु समूह हमासको गाजा क्षेत्रमा गहिरो प्रभाव छ। जवाफमा व्यापक बमबारीसँगै इजराइल डिफेन्स फोर्स (आआइडिएफ) ले गाजामा हमास कार्यकर्तालाई लक्ष्य गर्दै रणनीतिकस्थलमा आक्रमणसमेत शुरू गरेको छ।
इजरायल–हमास द्वन्द्व लम्बिँदै जाँदा र प्यालेस्टाइनीको मृत्यु बढ्दै जाँदा भूराजनीतिक अवस्था बिग्रने छ। यसले पश्चिम एसिया (मध्यपूर्व) मा द्वन्द्व फैलिने ठूलो जोखिमलाई बढाउने छ। इजराइली हवाई आक्रमण र स्थल कारबाहीमा मारिने नागरिकको वृद्धि र इजराइली घेराबन्दीका कारण खाद्यान्न, पानी र औषधिको चरम अभावका कारण गाजामा मानवीय सङ्कट दिनप्रतिदिन बढ्दै गइरहेको छ। राष्ट्रसङ्घ जस्ता बहुपक्षीय निकायले गाजामा मानवीय सङ्कटका बारेमा धेरै चेतावनी जारी गरेका छन्। यद्यपि इजराइलले आफ्नो अभियान अन्त्य गर्न अथक प्रयास जारी राखेको छ।
राष्ट्रसङ्घको बढ्दो आलोचनाका बिच इजराइली सरकारले विश्वव्यापी निकायका कर्मचारीका लागि स्वचालित प्रवेशाज्ञा समाप्त गर्ने निर्णय गरेको तथा ‘केस–टु–केस’ आधारमा त्यसमाथि विचार गर्ने जनाएको छ। चीनको मध्यस्थतामा दुई कट्टर प्रतिद्वन्द्वी इरान र साउदी अरेबियाबिचको सम्बन्ध ऐतिहासिक सामान्यीकरण हुँदै गर्दा अक्टोबरमा इजराइल–हमास द्वन्द्वको सुरुआतले मध्यपूर्वमा शान्तिपूर्ण आशालाई ध्वस्त पारेको छ।
त्यस्तै अमेरिकी मध्यस्थतामा इजराइल र साउदी अरेबियाबिचको सम्बन्धलाई सामान्य बनाउन सम्झौता नजिकै रहेको बताइएका बेला अक्टोबरमा दक्षिणी इजराइलमा हमासको आकस्मिक आक्रमणले वर्षको अन्त्यसम्म चलेको घातक द्वन्द्वलाई निम्त्याएको छ। गाजा द्वन्द्व सुरु भएपछि साउदी अरेबियाले विरोधमा इजरायलसँग सामान्यीकरण प्रक्रिया रोक्ने निर्णय गरेको छ।
इजराइलसँग शान्ति सन्धिमा हस्ताक्षर गरेका इजिप्ट र जोर्डन गाजामा भएको इजराइली आक्रमण र प्यालेस्टिनीको सामूहिक विस्थापनपछि इजराइलसँग चिढिएका छन्। मोरक्को, बहराइन र संयुक्त अरब इमिरेट्स जस्ता हालै इजराइलसँगको सम्बन्धलाई सामान्य बनाएका अन्य अरब राष्ट्रले पनि गाजापट्टीमा इजराइली आक्रमणको निन्दा गरेका छन्।
हमासले अक्टोबर पहिलो हप्ता इजराइलमा घातक आक्रमण सुरु गरेपछि वर्तमान युद्ध सुरु भएको हो। कतारको नेतृत्वमा रहेका मुलुक इजराइल र हमासबिच अस्थायी युद्धविराम गर्न सफल भएपछि यस क्षेत्रमा हत्याका घटना केही समयका लागि रोकिएको थियो। युद्धविरामका क्रममा युद्धरत पक्षहरूले कैदीबन्दी आदानप्रदानसमेत गरे पनि बन्दी सम्झौतालाई लिएर मतभेद उत्पन्न भएपछि युद्धविराम भङ्ग भयो र फेरि हिंसाको क्रम सुरु भयो।
अमेरिका र युरोपेली देशहरूले इजराइल र हमासलाई वार्ताको टेबुलमा फिर्ता ल्याउन धेरै प्रयास गरे पनि युद्धको तीव्रताले दुवै पक्षले केही सुन्न मानेनन्। यस पटक युद्धले अपेक्षाकृत शान्तिपूर्ण पश्चिम किनारलाई पनि घेरेको देखिन्छ। यहाँ इजराइली सेनाले क्रिसमसका अवधिमा केही घातक आक्रमण गरेको छ। युद्धविरामका लागि अरब देशहरूले राष्ट्र सङ्घमा धेरै प्रस्ताव पेस गरे। तीमध्ये केही पारित पनि भए। केहीलाई भने अमेरिकाले रोकिदियो।
यसैबिच इजिप्टले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ र दुवै पक्षले योजनालाई विचार गर्न इच्छा देखाएका छन्। पछिल्लो शान्ति योजनामा बन्धकहरूको क्रमशः रिहाइ र इजराइली नियन्त्रणमा रहेका गाजापट्टी र पश्चिम किनार दुवैको निरीक्षण गर्न दक्ष पेसेवारहरूले बनेको अन्तरिम प्यालेस्टिनी प्रशासनको स्थापना समावेश छ।
इजरायली सरकार पनि गाजामा लामो युद्धका लागि आर्थिक रूपमा तयार छ कि छैन भनेर निश्चित छैन। इजराइल–हमास युद्धले सन् २०२४ मा ५० अर्ब सेकेल (१४ अर्ब अमेरिकी डलर) खर्च गर्ने बताइएको छ। यस रकमले इजराइलको बजेट घाटा तीन गुणा बढाउने अनुमान गरिएको छ। इजराइलको वित्त मन्त्रालयको हालको तयारीले आइडिएफलाई सन् २०२४ फेब्रुअरीसम्म मात्र लड्न अनुमति दिएको छ। आगामी वर्षको पहिलो दुई महिनापछिको आर्थिक अवस्था अन्योल छ।
उपबजेट आयुक्त इटाइ टेम्किनका अनुसार गाजा युद्धले कुल रक्षा खर्च ४८ अर्ब सेकेलभन्दा धेरैले बढेको छ। मुलुकको वित्तीय सन्तुलनमा गम्भीर प्रभाव पार्न सक्ने भएकाले टेम्किनले सन् २०२४ फेब्रुअरीपछि विस्तार हुने इजराल–हमास युद्धको सम्भावनाबारे केही बताउन चाहनुभएको छैन।
इजराइलले गाजामा आफ्नो युद्धका लागि ३० अर्ब सेकेलभन्दा बढी छुट्याइसकेको तथा रक्षा मन्त्रालयको बजेट बढाउन केही आर्थिक उपाय विचार गरिरहेको छ। प्रमुख कुरा, युद्धले इजराइलको अर्थतन्त्रमा गम्भीर असर पार्ने सम्भावना छ। विज्ञहरूले यस वर्ष इजराइलको अर्थतन्त्र दुई प्रतिशतले घट्ने अनुमान गरेका छन्।
अमेरिकाले हालसम्म इजराइललाई आफ्ना प्रयासमा समर्थन गरे पनि आगामी राष्ट्रपति चुनावले यथास्थितिमा केही गम्भीर प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले युक्रेन युद्धका समर्थनमा ७५ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ। यद्यपि उसको घरेलु राजनीतिमा अब किएभलाई दिइएको लगातार सहयोगमाथि प्रश्न उठिरहेको छ। यसबाहेक गाजामा विशेष गरी महिला र बालबालिकाको बढ्दो मृत्युका कारण अमेरिकालाई अन्तरराष्ट्रिय मञ्चमा इजराइलको रक्षा गर्न कठिन भएको हुन सक्छ।
रुससँग युक्रेन युद्धका लागि तयारी गर्न बढी समय भएकाले रुस–युक्रेन युद्ध लामो समय जारी रहे पनि इजरायल–हमास युद्ध धेरै लम्बिने देखिँदैन। घरेलु राजनीतिक बाध्यता र अपमानले इजराइली प्रधानमन्त्री नेतन्याहुलाई गाजामा हमासका लक्ष्यविरुद्ध पूर्ण शक्ति प्रयोग गर्न बाध्य तुल्याएको अनुमान गर्न सकिन्छ। इजिप्टको शान्ति योजना एक सुरुआत भए पनि इजराइलले थप युद्धविराम योजनाहरूमा विचार गर्न र सन् २०२४ को पहिलो छ महिनाभित्रै आफ्नो अभियान समाप्त गर्न इच्छुक हुने अनुमान गरिएको छ।