कुवेतका अमिरको निधनमा नेपालमा आज शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

मूलखबर संवाददाता
काठमाडौं

कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले आज सोमबार एकदिने शोक मनाउने भएको छ । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो ।

मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

“मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मंसिर ३० गते (सन् २०२३ डिसेम्बर १६ ) का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने” नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।