तनहुँ बस दुर्घटनाः २ जनाको मृत्यु, चालकसहित ३६ जना घाईते
काठमाडौं, मंसिर १३
तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने चालकसहित ३६ जना घाइते भएका छन् । आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए ।
घाइतेहरूमध्ये ९ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ । अन्यको दमौली अस्पताल र नहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो । यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए ।