बेलायती राजनीतिमा अनौठो प्रयोगः प्रधानमन्त्री भैसकेका क्यामरुन विदेशमन्त्रालयमा
बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्। योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आएका छन्।
ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए।
त्यसैगरी प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन्। क्लेभर्लीले सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीको भूमिकाबाट विस्थापित गरेका छन्। यसअघि उनी विदेशमन्त्री थिए।
सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो। यसअघि उनले सोमबार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए। प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम निर्वाचनअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन्।
आलोचकहरूले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टिनी समर्थकको प्रदर्शन र प्रति–विरोधका सातामा तनाव बढाएको आरोप लगाएका थिए। उक्त आरोपसँगै स्पष्टवादी दक्षिणपन्थी नेता ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो।
आफ्नो बर्खास्तपछि ब्रेभरम्यानले भने, ‘गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो, आगामी दिनमा मैले भन्नुपर्ने धेरै कुरा हुनेछन्।’
सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमा ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो। सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो।
बेलायतमा तेस्रो वर्ष अगाडि नै प्रधानमन्त्री भएका डेभिड क्यामरुन विदेश मन्त्री भएका छन् । सन् २०१० देखि सन् २०१६ सम्म बेलायती कन्सरभेटिब पार्टीका नेताको रुपमा उनी प्रधानमन्त्री भएका थिए । मंगलबार फेरबदल भएको नयाँ क्याबिनेटमा उनी विदेश सचिव भएका हुन् । यो विदेशमन्त्रीको बेलायती नाम हो ।
सुनाकको पहिलो संसदीय यात्रा सन् २०१५ मा रिचमण्ड योर्कबाट सुरु हुँदा पनि क्यामरुन प्रधानमन्त्री नै थिए । आफू प्रधानमन्त्री हुँदा राजनीतिक करिअर सुरु गरेको नेताकै नियुक्तिमा उनको कनिष्ट अनुहार भएर बस्न क्यामरुनले सदासयता देखाएका छन् ।