राष्ट्रसंघ प्रमुखको नेपाल डायरीः निःशुल्क पर्यटन विज्ञापन, संसारलाई सन्देश
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने भ्रमण पूरा गरेर फर्किएका छन्। आइतबार बिहान १ बजे त्रिभुवन विमानस्थल उत्रिएका उनी बुधबार बिहान फर्किएका हुन्। गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाई गरेका थिए।
आइतबारबाट राजनीतिक भेटघाट सुरु गरेका उनले मंगलबारसम्म त्यसलाई जारी राखेका थिए। आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा केही मन्त्रीहरूलाई भेटेका थिए। मंगलबार उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए।
भ्रमणका क्रममा गुटेरेस सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण आधार शिविर, लुम्बिनी पनि पुगेका थिए। सगरमाथा क्षेत्र र अन्नपूर्ण आधार शिविरमा उनले स्थानीयहरूसँग कुराकानी पनि गरेका थिए। त्यसक्रममा उनले जलवायु परिवर्तनका असरका सन्दर्भमा स्थानीयको अनुभव सुनेका थिए। आफ्नो सम्बोधनमा उनले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक रहेको बताएका छन्। त्यस्तै विश्वशान्तिका विषयलाई पनि उनले प्राथमिकताका साथ उठाएका थिए। साथै, नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताएका थिए। दुईबीचको सहकार्य गहन भएको उनको भनाइ थियो। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको बताए। ‘विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्रको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो’, उनले भनेका थिए।
महासचिव गुटेरेसले १२ गते दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। उनलाई प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए।
भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्याउन महासचिव गुटेरेसको महत्वपूर्ण भूमिका हुने कुरा गरेको बताए। त्यस्तै गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताए।
महासचिव गुटेरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको थियो। उनीहरूबीच नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेट भएको हो। भेटमा घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका थिए। उनले निकट समयमै दुवै आयोगसम्बन्धी ऐन निर्माण गर्ने बताए। गुटेरेसले भने नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका थिए।
महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। उनीहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा भेट भएको हो। भेटमा देउवाका अतिरिक्त कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, नेता शेखर कोइराला लगायत सहभागी थिए। भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको थियो। नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाप्रति सभापति देउवाले प्रशंसा गर्नुका साथै जलवायु परिवर्तनले नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असरबारे अवगत गराएका थिए।
महासचिव गुटेरेस र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उनीहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा भेट भएको हो। भेटमा ओलीका अतिरिक्त एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई लगायत सहभागी थिए। भेटमा गुटेरेसले शान्तिका संवाहक गौतम बुद्धको जन्मस्थल, शान्ति सेना योगदान गर्ने दोस्रो ठूलो योगदानकर्ता र शान्ति प्रक्रिया सफलतापूर्वक अगाडि बढाएकोमा नेपालको प्रशंसा गरेका थिए। ओलीले भने नेपालको शान्ति प्रक्रिया मौलिक र देशभित्रकै शक्तिहरूको अगुवाइमा भएको बताउँदै संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन चाहेको, तर यो ‘संक्रमणकालीन अन्याय’ चाहिँ हुन नहुनेमा जोड दिएका थिए।
महासचिव गुटेरेसले १२ गते नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरे। गुटेरेस राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपतिले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।
महासचिव गुटेरेस बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रतर्फ प्रस्थान गरेका थिए। त्यहाँ उनले जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गरेका थिए।
सगरमाथा क्षेत्रबाट फर्किएर महासचिव गुटेरेसले ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा त्यहाँको टोलीसँग बैठक गरेका थिए। त्यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै गुटेरेसले नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्ने बताए।
महासचिव गुटेरेस पोखरा भ्रमणका लागि प्रस्थान गरेका थिए। नेपाली सेनाको विमानमार्फत् पोखरा पुगेका उनलाई पुरानो विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यसहितको टोलीले स्वागत गरेको थियो। उनलाई खादा, माला र ढाका टोपी लगाएर स्वागत गरिएको थियो।
महासचिव गुटेरेस कात्तिक १४ गते बिहान अन्नपूर्ण आधार शिविर पुगेका थिए। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका हुन्। त्यहाँ उनलाई स्थानीयले स्वागत गरेका थिए। उनी जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न त्यहाँ पुगेका हुन्। उनले अन्नपूर्ण गाउँपालिका–११ का स्थानीयसँग अन्तरक्रिया गरेका थिए। फर्किएर पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक रहेको बताएका थिए।
महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरबाट फर्किएर बुद्धको जन्मस्थल लुम्बिनी पुगेका थिए। लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले स्वागत गरेका थिए।
गुटेरेसले लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा खुशी लागेको बताए। उनले संसारभर भइरहेका युद्ध अन्त्यका लागि आह्वान पनि गरे। त्यहाँको बगैंचामा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा बिरुवा पनि रोपेका थिए।
महासचिव गुटेरेस र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच कात्तिक १४ गते दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालयको सभाकक्षमा शिष्टाचार भेटवार्ता भयो। भेटवार्तामा गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरेका थिए।
महासचिव गुटेरेसले कात्तिक १४ गते दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई सिंहदरबारस्थित उनको शिष्टाचार भेट गरे। भेटमा गुटेरेसले शान्ति प्रक्रियामा नेपालले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले जलवायु परिर्वतनबाट परेको प्रभाव प्रत्यक्ष अनुभूत गरेको बताउँदै यसका असर न्यूनीकरणका लागि र पीडित राष्ट्रहरुले भोगिरहेको समस्याप्रति जानकार रहेको बताए।
संसारलाई जलवायु परिवर्तनबारे गम्भीर सन्देशः
विश्वलाई सन्देश दिन नेपालमा छु । जलवायु परिवर्तनका सन्दर्भमा दुई चरणको खतरनाक अध्यायबाट दुःखद घटना हुन लागेको छ । पहिलो चरण हिमनदी र बरफ पग्लने कथा हो । उल्लेख्य तापमान भनेको उल्लेख्य ग्लेसियर पग्लनु हो । नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ (हिउँ) गुमाएको छ । अन्टार्कटिका र ग्रिनल्यान्डले हरेक वर्ष अर्बौँ टन बरफ गुमाइरहेका छन् । बरफहरू पग्लिनुको अर्थ सुगन्धित तालहरू र नदीहरूमा बाढी आउनु, सम्पूर्ण समुदायलाई बगाउनु हो । विश्वभर तटीय समुदायलाई खतरामा पार्ने गरी तीव्र रूपमा समुद्र बढेर गएका छन् । संकटले गति लिइरहेको छ । यसको मतलब यो त्रासदीको दोस्रो चरण अझ ठूलो हुन्छ– हिमनदीहरू पूर्ण रूपमा हराउनेछन् । हिमतालहरू बरफका जलाशय हुन् । यहाँ हिमालयमा रहेका जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्छन् । जब तिनीहरू संकुचित हुन्छन्, त्यसरी नै नदीहरू बग्दछन् । भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख हिमाली नदीको बहावमा ठूलो मात्रामा कमी आउन सक्छ । तल्लो तटीय देश र समुदायहरू सदाका लागि मेटाइँदै छ । पानी र जमिनका लागि लाखौँ मानिस भयंकर प्रतिस्पर्धाको चालमा छन् । र, विश्वव्यापी रूपमा बाढी, खडेरी र पहिरोको गति बढ्दै गएको छ । म आज संसारको छानाबाट कराउन यहाँ आएको छु । पागलपन रोक्नुहोस् । हामीले जीवाश्म इन्धन युगको अन्त्य गर्नुपर्छ । हामीले अग्रपंक्तिमा रहेका मानिसलाई जोगाउन अब प्रयास गर्नुपर्छ । सबैभन्दा खराब जलवायु परिवर्तनको अराजकताबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न प्रयास गरिहाल्नुपर्छ । संसारले पर्खन सक्दैन ।