नेपालको संसदबाट राष्ट्रसंघका महासचिवले संसारलाई दिएका सात सन्देश
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मंगलबार नेपालको संघीय संसदको संयुक्त संदनलाई सम्बोधन गरेका छन्। मंगलबार विहानै लुम्बिनीबाट फर्किएपछि बानेश्वरस्थित संसद भवन पुगेका गुटेरसलाई सभामुख देवराज घिमिरेलगायतले स्वागत गरेका थिए।
सम्बोधनका क्रममा महासचिव गुटेरेसले संसारलाई सात फरक सन्देश दिए।
१- नेपालले राष्ट्रसंघमा राम्रो काम गरिरहेको छ
गुटेरेसले विश्व शान्तिमा नेपालले ठूलो योगदान गरेको बताएका छन् ।
मंगलबार संसद्को दुवै सदनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
“यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ,” उनले भने ।
विश्वका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सेना पठाउने दोस्रो ठूलो देश भएको उनले जनाए ।
“नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु,” उनले भने ।
राष्ट्रसंघको निलो झण्डामुनि सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूको स्मरण गर्दै सम्बोधनका क्रममा उनी एकछिन मौन रहेका थिए ।
२- जलवायु परिवर्तनबारे चिन्ता
आफ्नो सम्बोधनको सुरुवातमा नै महासचिवले नेपाल भ्रमणबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्दै जलवायु परिवर्तन विरूद्धको सङ्घर्ष र नेपालको विकासका लागि आफूले सिकेको कुरालाई प्रयोग गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए।
जलवायु परिवर्तनका चुनौती खेप्नु परिरहेका देशहरूमा नेपाल अग्रणी रहेको बताएका उनले नेपालले कूल शून्य उत्सर्जन हासिल गर्ने दिशामा प्रगति गरेको बताए।
नेपालको करिब आधा भूभागमा वन क्षेत्रका कारण हरियाली रहेको चर्चा गरेका उनले विपद्को पूर्व चेतावनी दिने प्रणालीप्रति पनि प्रसन्नता जनाए।
तर नेपालमा अन्य विकासशील देशहरूजस्तै सङ्कटहरू बढिरहेको भन्दै उनले नेपाल बाढी पहिरो जस्ता मनसुनी प्रकोप, हिमनदी पग्लनेजस्ता विपद्हरूको चपेटामा परेको उनले सुनाए।
३. नेपालले हासिल गरेका उपलब्धि
राष्ट्रसङ्घ समेतको सहयोग लिएर नेपाल एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति प्रकृयामा प्रवेश गरेको थियो। महासचिव गुटेरसले उक्त प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसङ्घ गौरवान्वित रहेको बताए।
उनले गणतन्त्र लगायतका उपलब्धिको चर्चा गर्दै गम्भीर आर्थिक सङ्कटहरू रहेपनि दिगो विकासका लक्ष्यहरूमा नेपालले महत्त्वपूर्ण प्रगतिहरू गरिरहेको बताए। उनले महिला समावेशीकरण सहितका क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरे।
विश्व शान्तिका लागि शान्ति सैनिकहरू उपलब्ध गराएर नेपालले सहयोग गरेको भन्दै मुक्तकन्ठले प्रशंसा गरेका उनको अनुरोधपछि सांसदहरूले बैठक चलिरहँदा नै दिवङ्गत शान्ति सैनिकको सम्मानमा मौन धारण गरेका थिए।
उनले भने, “नेपाल विश्वको मित्र हो। विश्व नेपालको अझ राम्रो साथी बन्नुपर्छ। त्यसलाई वास्तविकतामा बदल्न संयुक्त राष्ट्रसङ्घले लड्न छाड्ने छैन।”
४- नेपाल स्वाधिनता रक्षा गर्न सक्षम छ
गुटेरेसले नेपालले आफ्नो स्वाधीनताको रक्षा गर्ने बाटो आफैँ बनाएको बताएका छन् ।
“दुई ठूला शक्तिका बीचमा बसेर नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो बाटो आफैँले बनाएको छ,” उनले भने ।
पछिल्ला वर्ष विश्वमा भू–राजनीतिक तनाव बढ्दै गएको उनले जनाए । भू–राजनीतिक तनाव बढ्दा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको उनले बताए ।
“ठूला शक्तिबीच प्रतिस्पर्धा बढ्दा आफ्नो पनि क्षति हुने हो कि भनेर सान राष्ट्रहरू डराइरहेका छन्,” उनले भने ।
५- संसारमा अशान्ति छ
संम्बोधन गरेका महासचिव गुटेरेसले विश्वका समस्याहरूको विषयमा पनि बताएका छन् । आज संसारमा अशान्ति रहेको भन्दै थुप्रै समस्या रहेको उनले औल्याएका छन् ।
“हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिदैछन् । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ,” महासचिव गटेरेसले संम्बोधनमा भनेका छन्, “परिवारहरू होस वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् ।”
उनले हिंसा र द्वन्द्व विश्वको अर्को समस्या रहेको बताए ।
“हिंसा र द्वन्द्व चुलिएका छन् । मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए,” महासचिव गुटेरेसले भने, “मृत्यु भएका १० नेपाली विद्यार्र्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता विपीन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”
उनले भूराजनीतिक विवादले विश्वव्यापी विवाद खतरनाक बन्दै गएको पनि बताए ।
“भू–राजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन,” महासचिव गुटेरेसले भने ।
६- संसार बहुध्रुवीय भैसक्यो
गुटेरेसले विश्व बहुध्रुवीयतातर्फ अघि बढेको जनाएका छन् । उनले बहुध्रुवीयताले सन्तुलनका लागि नयाँ अवसर प्रदान गर्ने समेत बताए ।
“विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो,” उनले भने, “बहुध्रुवीय संसारले विश्वव्यापी मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ ।”
तर, यो नयाँ गतिशीलतामार्फत शान्ति कायम राख्न बलियो बहुपक्षीय संस्थाहरू चाहिने उनले जनाए ।
नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको एक मित्र रहेको जनाउँदै उनले उक्त प्रणालीलाई अब ‘रिफर्म’ गर्नुपर्ने बताए ।
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व बहुध्रुवीयतातर्फ अघि बढेको जनाएका छन् । मंगलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले बहुध्रुवीयताले सन्तुलनका लागि नयाँ अवसर प्रदान गर्ने समेत बताए ।
“विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो,” उनले भने, “बहुध्रुवीय संसारले विश्वव्यापी मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ ।”
तर, यो नयाँ गतिशीलतामार्फत शान्ति कायम राख्न बलियो बहुपक्षीय संस्थाहरू चाहिने उनले जनाए ।
नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको एक मित्र रहेको जनाउँदै उनले उक्त प्रणालीलाई अब ‘रिफर्म’ गर्नुपर्ने बताए ।
बिसौँ शताब्दीको सुरुमा युरोप बहुध्रुवीय भए पनि बलियो बहुपक्षीय संस्थाहरू नहुँदा युद्धमा होमिएको उनले स्मरण गरे । “हामीलाई आजको वास्तविकतालाई प्रतिविम्बित गर्ने बलियो अन्तर्राष्ट्रिय संस्थाहरू चाहिन्छ,” उनले भने ।
विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने उनले बताए । यसैकारण हालसको राष्ट्रसंघको सुरक्षा परिषद्लाई सुधार गर्न आफूले आह्वान गरेको उनले जनाए ।
“मैले विश्वव्यापी वित्तीय संरचना सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु । यसले विकासशील देशहरूको अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र उनीहरूको आवश्यकता सम्बोधन गर्न सहयोग गर्दछ,” उनले भने ।
७- सङ्क्रमणकालीन न्याय टुङ्गियोस्
नेपालको शान्ति प्रक्रियामा हालसम्म गतिरोध खेपिरहेको सङ्क्रमणकालीन न्यायको विषयमा पनि राष्ट्रसङ्घका महासचिवले आफ्नो धारणा राखेका थिए।
‘नेपालीले नेतृत्व लिएको’ उक्त प्रक्रिया अघि बढाउने अन्तिम चरणको काम भइरहेको उल्लेख गर्दै महासचिव गुटेरसले थपे, “सङ्क्रमणकालीन न्यायले दीर्घकालीन शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर हामी सबैलाई थाहा छ यो सजिलो छैन। स्वभावैले यो जटील प्रक्रिया हो।”
“पीडितहरूलाई केन्द्रमा राखेर समावेशी प्रक्रिया अवलम्बन गर्दामात्रै यो सफल हुने” बताएका उनले अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशलाई सम्मान गरिनुपर्ने दोहोर्याए।
“नेपालीले नेतृत्व गर्ने त्यस्तो प्रक्रियालाई समर्थन गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको” उनको भनाई थियो।