इजरायलको नयाँ निशाना हमासको सुरुङ, राष्ट्रसंघमा यसरी भयो युद्धबारे वादविवाद
प्यालेस्टाइनी लडाकुलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजापट्टीमा हमासको सुरुङको विशाल सञ्जाललाई मुख्य निसाना बनाइएको विज्ञले बताएका छन् ।
इजरायली सेनाले शुक्रबार गाजामा रातको समयमा १५० ‘भूमिगत लक्ष्य’मा आक्रमण गरेको र त्यसले ‘आतंकवादीको सुरुङ’ र ‘जमिनमुनिका लडाकु स्थानहरू’ ध्वस्त पारेको तथा हमासका लडाकुहरू मारिएका जनाएको छ ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार ४०० जनाको ज्यान लिएको इजरायलले जनाएको छ । सेनाले गाजा क्षेत्रको सुक्खा शिविरमा युद्ध प्रशिक्षणलाई तीव्र बनाएको छ ।
इजरायलले इजरायलबाट अपहरण गरिएका २२० भन्दा बढी व्यक्तिलाई सुरुङमा राखिएको पनि जनाएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार तीन हप्ताको युद्धमा इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी बालबालिकासहित सात हजार ७०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
हमासको सैन्य शाखाले आक्रमणमा करिब ५० जना बन्धक मारिइसकेको जिकिर गरेको छ । तर, यसलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
इजरायली जेटहरूले विशाल सुरुङ नेटवर्कका केही भागमा प्रहार गरेका छन् । त्यो हमासले वर्षौँदेखि निरन्तर विकास वा पुनर्निर्माण गरेको थियो । यसलाई इजरायली सैनिकले अक्सर ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्छन् ।
करिब ४० किलोमिटर लामो गाजामा ५०० किलोमिटर (३०० माइल) सम्म फैलिएको उक्त क्षेत्रलाई ध्वस्त पार्न सेनाले निरन्तर नयाँ हतियारको खोजी गरिरहेको छ ।
इजरायली दैनिक मारिभले अक्टोबर ७ को आक्रमणपछि व्यापक रूपमा अपेक्षित भूमि आक्रमणको तयारी गरिरहेका बेला यसै हप्ता यसलाई ‘भूमिगत नरक’ भनेको छ । हमासले अहिलेसम्म रिहा गरेका चार बन्धकमध्ये एक ८५ वर्षीया योचेभेद लिफशिट्जले इजरायल फर्केपछि आफू सुरुङको ‘माकुराको जालो’मा हिँड्न बाध्य भएको बताएकी छन् ।
अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टका मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक सहरहरूमुनि एउटा अर्को सहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए ।
सैन्यविज्ञका अनुसार हमासले आफ्नो नेतृत्व, लडाकु, मुख्यालय, सञ्चार, हातहतियार, पानी, खाद्यान्न, गोलाबारुदजस्ता आपूर्तिलाई स्थलगत आक्रमणको तयारीका निम्ति आफ्नो सुरुङ परिसरमा राखिसकेको छ । यी सुरुङमा आफ्नै विद्युत् आपूर्ति, भेन्टिलेसन र खाद्यान्न तथा पानीको मौज्दात रहेको पर्यवेक्षकले बताएका छन् ।
वासिङटनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विश्लेषक तथा अवकाशप्राप्त अमेरिकी सेनाका जनरल मिक रायनले भने, “हमासले आफ्नो भूमिगत सञ्जालको फाइदा उठाउँदै लडाकुलाई सही समयमा सही ठाउँमा सार्न सक्छ वा उनीहरूलाई प्रभावकारी रूपमा सम्हाल्न नसक्ने खतराबाट टाढा लैजान सक्छ ।”
इजरायलले विशेषज्ञ कमान्डो इन्जिनियरहरूलाई सुरुङ पत्ता लगाउन र नष्ट गर्न तालिम दिएको पश्चिमी विज्ञले बताएका छन् । सेनाले भूमिगत रूपमा काम गर्न कुकुरलाई विशेष तालिम समेत दिएको छ ।
स्पेन्सरले भने, “यसको याहलोम एकाइ यो विश्वको सबैभन्दा ठूलोमध्ये एक हो, जसले भूमिगत युद्धको सामना गर्न प्रशिक्षण, मानव, सुसज्जित, प्रयोग र नयाँ तरिका विकास गर्छ ।”
यसैबीच, संयुक्त राष्ट्रसंघीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका निम्ति युद्धविराम’को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यका लागि गैरबाध्यकारी प्रस्तावलाई पारित गरेको छ । यो हमास आक्रमणपछि इजरायल र प्यालेस्टाइनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका निम्ति संयुक्त राष्ट्रसंघको पहिलो प्रतिक्रिया हो ।
विश्व समुदायको छाता संगठनका रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरुद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टाइनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्रसंघभन्दा अधिक साहसी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए । विगत दुई सातामा चारपटक सहमतिका निम्ति गरिएका प्रयासमध्ये दुई ‘भिटो’ शक्तिका कारण र अरू दुई सहमतिका पक्षमा कम्तीमा नौ मत नपुग्दा विफल भएका छन् । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले मतदानपछि भने, “हमासको आतंककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारबाही बन्द गर्ने छैन ।”
उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतंकवादी सोचलाई जरैबाट हटाउनु हो ।
इजरायलले अक्टोबर ७ मा हमासले गरेको ‘आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै कब्जामा लिइएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो । त्यसबारे अरबले तयार पारेको प्रस्तावमा उल्लेख छैन ।
संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुसी व्यक्त गरेका छन् ।
“यसप्रकारको भूराजनीतिक वातावरणमा १२० मत अन्तर्राष्ट्रिय कानुन, बल प्रयोगको समानुपातिक प्रयोगको समर्थनको उच्च संकेत हो र यो अहिले धरातलमा भइरहेको यथास्थितिलाई अस्वीकार गर्नु हो,” उनले भने ।
प्रस्तावको विपक्षमा मतदान गर्ने १४ मुलुकमा इजरायल र यसको निकटतम सहयोगी संयुक्त राज्य अमेरिका, पाँच प्रशान्त टापु राष्ट्रहरू र चार युरोपेली देशहरू अस्ट्रिया, क्रोएसिया, चेकिया र हंगेरी रहेका छन् । ईयूका आठ सदस्य राष्ट्रले पक्षमा मतदान गरेका थिए ।
संयुक्त राष्ट्रसंघका लागि फ्रान्सका राजदूत निकोलस डे रिभिएरेले आफ्नो देशले यो प्रस्तावलाई समर्थन गरेको र ‘कुनै पनि कुराले नागरिकको पीडालाई न्यायोचित ठह¥याउन नसक्ने’ बताएका छन् ।
मन्सुरले भने, “युरोपेली मतले सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न वा यो युद्ध रोक्न इजरायलमा अधिकतम दबाब सिर्जना गर्न ‘धेरै सहयोगी’ हुन सक्ने संकेत गरेको छ ।”
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणबाट करिब एक हजार ४०० इजरायलीको मृत्यु भएको छ । इजरायलको जवाफी हवाई आक्रमणमा सात हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । गाजामा बढ्दो मृत्यु र विनाशले त्यहाँका २३ लाख मानिसलाई अति आवश्यक खाद्यान्न, पानी, औषधि र इन्धन उपलब्ध गराउन ‘मानवताका लागि युद्धविराम’का निम्ति अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ ।
संयुक्त अरब इमिरेट्सका नुसेइबेहले पत्रकारसँग भने, “सुरक्षा परिषद्को प्रस्तावजस्तो महासभाका प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुँदैनन्, तर तिनीहरूले अविश्वसनीय वजन र नैतिक अधिकार बोकेका हुन्छन् ।”
उनले सुरक्षा परिषद्का १० निर्वाचित सदस्यले महासभाबाट ‘नैतिक अधिकार’ लिने र परिषद्को प्रस्तावमा रहेको अवरोध तोड्ने प्रयास गर्ने बताए ।
प्यालेस्टाइनको कब्जामा रहेका क्षेत्रमा इजरायली गतिविधिबारे महासभाको आपत्कालीन विशेष अधिवेशनमा ११३ वक्ताको सूचीमार्फत मतदान गरिएको हो ।
संयुक्त राष्ट्रसंघका लागि जोर्डनका राजदूत महमुद हमुदले २२ राष्ट्रको अरब समूहका तर्फबाट बोल्दै प्यालेस्टाइनी जमिनमा बढ्दो आक्रामक स्थितिलाई ध्यानमा राख्दै यस प्रस्तावमा कदम चाल्न आह्वान गरेका थिए ।
मतदानअघि हमुदले क्यानडाको संशोधनलाई परास्त गर्न आग्रह गर्दै भने, “अहिले भइरहेको ज्यादतीका लागि इजरायल जिम्मेवार छ र त्यो गाजाको जमिनी आक्रमणमा पनि देखिनेछ ।”
राष्ट्रसंघका लागि क्यानडाका राजदूत रोबर्ट रायले प्रस्तावले अक्टोबर ७ को घटनालाई बिर्सेको जस्तो देखिएको बताए । उनले भने, “यो संशोधनले इतिहासकै सबैभन्दा खराबमध्ये एक आतंकवादी हमलाका लागि जिम्मेवार हमासको निन्दा गरेको छ ।”
राष्ट्रसंघका लागि पाकिस्तानका राजदूत मुनीर अक्रमले आफूले प्रस्तावको पक्षमा समर्थन गरेको बताएका थिए ।
अकरमले भने, “यदि, क्यानडा वास्तवमै न्यायसंगत थियो भने उसले या त अपराधमा दोषी ठहरिएका दुवै पक्षको नाम लिन सहमत हुने थियो वा हामीले रोजेको जस्तो नाम पनि राख्ने थिएन ।”
क्यानडाको संशोधनमा २३ असहमतिसहित ८८ का विरुद्ध ५५ मत खसेको थियो । तर, यसले पक्ष वा विपक्षमा मतदान गर्नेहरूको दुईतिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो । त्यसपछिको सम्पूर्ण प्रस्तावको मतदानमा क्यानाडा अनुपस्थित थियो ।
अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले इजरायलका एर्डनले हमासको नाम उल्लेख नगरेको र यो दुई राष्ट्र समाधानको दृष्टिकोणका निम्ति ‘हानिकारक’ भएको भन्दै प्रस्तावलाई ‘अपमानजनक’ भनेकी थिइन् ।
उनले यसलाई ‘इजरायली र प्यालेस्टानीका निम्ति खतरनाक क्षण’ बताउँदै भनिन्, “हमासको ‘आतंक’को कुनै औचित्य छैन, प्यालेस्टाइनीलाई मानव ढालका रूपमा प्रयोग गरिएको छ । ‘निर्दोष प्यालेस्टाइनी’को जीवनको रक्षा गर्नुपर्दछ ।”
ओमानले गल्फ कोअपरेसन काउन्सिलका तर्फबाट बोल्दै इजरायलले गाजामा गरेको ‘घेराबन्दी’, त्यहाँका जनताको भोकमरी र प्यालेस्टाइनीलाई सामूहिक सजायको निन्दा गरेको छ । “तर, प्यालेस्टाइनी आफ्नो आत्मनिर्णयको अधिकार र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टाइनी राज्य स्थापना गर्ने अधिकारको माग गर्नबाट विचलित हुने छैनन्,” ओमानले भनेको छ ।
शुक्रबार पारित गरिएको प्रस्तावमा तत्काल, दिगो र स्थायी मानवीय युद्धविरामका निम्ति आह्वान गर्नुका साथै सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय सहयोग र मानवअधिकारअन्तर्गत आफ्ना दायित्व तुरुन्तै पालना गर्न माग गरिएको छ ।