यसकारण नयाँ शक्ति बनाउन सकिनँ- डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पतनशील पुराना शक्तिहरूलाई साथमा लिएर जाँदा परिणाममुखी बन्न नसकिएको बताएका छन् ।
“बीचबीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन,” ट्विटरमा डा. भट्टराईले भनेका छन् ।
उनले केही समययता आफूहरू आफ्ना गल्ती/कमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा केन्द्रित भइरहेको समेत बताएका छन् । असन्तुष्टि नै नयाँ सिर्जनाको जजनी भएको उल्लेख गर्दै उनले भनेका छन्, “यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ । असन्तुष्टि नै नयाँ सिर्जनाको जननी हो भनेझैँ यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ ।”
‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’को आवश्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं,’ उनले लेखेका छन्, ‘परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन । केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौं।’
अहिले पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक भएको उनको भनाइ छ। असन्तुष्टी नै नयाँ सिर्जनाको जननी भएको भन्दै यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण गरेको उनको बुझाइ छ ।
यस्तो छ बाबुामले ट्वीटरमा लेखेको स्टाटस:
आइन्सटाइन भन्थे- ‘No problem can ever be solved at the same level of consciousness that created it.’
अर्थात् ‘ जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न।’
त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्- ‘No revolution can remain stationary; it has either to move forward or backward.’
अर्थात् ‘ कुनै पनि क्रान्ति स्थीर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ।’
नेपालमा २००७ सालतिर बीपी र पुष्पलालहरूले शुरू गरेको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ वर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुँदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पर्याएकै हो।
परन्तु त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भू-राजनीतिक र भू-आर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाँ आर्थिक-सामाजिक क्रान्तिको विचार/नीति/योजना/कार्यान्वयन मार्फत रक्षा र विकास गर्दै आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनु पर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या हो।
हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’को आवश्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं । परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन । केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौं।
यो बिचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ। असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झैं यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ।
परन्तु माथि उद्धृत आइन्सटाइन र रोजाको कथनलाई आत्मसात गर्दै हामीले क्रान्ति वा परिवर्तनको प्रकृयालाई पछि फर्काउने हैन अघि बढाउने प्रयत्न गर्नुपर्दछ भने विचार ( ideology) मा विकास नगरी पुरानै विचारमा टेकेर यी समस्या हल गर्न सकिन्न भन्ने पनि दरोसँग आत्मसात गर्नैपर्दछ।
अतः पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस्! पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन्!