गाजामा इजरायलले मच्चाएको विनाश लीला, इरानमाथि आक्रमणको सम्भावना कति !

मूलखबर संवाददाता
काठमाडौं

गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ । अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र सहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

उता, इजरायल र हमासबीच जारी द्वन्द्वका बीच तनावको दायरा लगातार बढिरहेको छ। अमेरिकालगायत पश्चिमी मुलुकको समर्थन इजरायललाई छ।

उता इरानले भने इजरायललाई गाजामा आक्रमण रोक्न निरन्तर चेतावनी दिइरहेको छ।

यसैबीच इजरायलले इरानविरुद्ध हवाई हमलाको तयारी गरिरहेको छ कि भन्ने प्रश्न पनि उठिरहेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले बुधबार यस विषयमा प्रतिक्रिया दिएका छन्।

‘इरानले मध्यपूर्वलाई अस्थिर बनाउँदै छ’, हगारीले भने।

उनले थपे, ‘हामीले निरन्तर निगरानी गर्न जरुरी छ।’ यद्यपि उनले यो पनि भने, ‘अहिले हाम्रो ध्यान गाजामा चलिरहेको द्वन्द्वमा केन्द्रित छ।’

इरानले गाजाको सुरक्षाबारे निरन्तर कुरा गरिरहेको छ। हिजबुल्लाहलाई पनि इरानको समर्थन रहेको बताइएको छ। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले दुई दिनअघि इजरायललाई गाजामा आक्रमण बन्द नगरे ‘जुनसुकै बेला जे पनि हुनसक्ने’ चेतावनी दिएका थिए।

उनले भने, ‘यदि गाजामा भइरहेको मानवताविरुद्धको अपराध र नरसंहार रोकिएन भने जुनसुकै बेला जे पनि हुनसक्छ र यस क्षेत्रको स्थिति नियन्त्रण बाहिर जानेछ।’

इरान वा उसको लेबननस्थित साझेदार हिज्बुल्लाहले गर्न सक्ने हस्तक्षेपको सम्भावनाबारे सोधिएको प्रश्नमा जो बाइडनले भने, “नगर।” अमेरिकीहरूले दुईवटा विमानवाहक लडाकु पानीजहाजको समूह पूर्वी भूमध्यसागरमा तैनाथ गराएको छ र यो द्वन्द्वमा टाढै बस्न इरानलाई स्पष्ट सन्देश दिएको छ।

यदि कसैले हस्तक्षेप गर्‍यो भने उनीहरूले इजरेलको मात्र नभई अमेरिकी सैनिकको सामर्थ्यसँग पनि जुझ्नुपर्ने सन्देश दिन खोजेका छन्।