एमालेलाई नैतिकता देखाउन माओवादी केन्द्रको चुनौती
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको सत्ता गठबन्धनमा जबरजस्ती घुसेको नेकपा एमालेलाई नैतिकता देखाउन चुनौती दिएको छ ।
नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले एमालेलाई सरकारबाट बाहिरिएर नैतिकता देखाउन चुनौती दिएका हुन् ।
बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत पाएपछि पत्रकारहरूसँग कुरा गर्दै आङ्बोले भने, ‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निशर्त मत दिएका हौं। अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ ।’ अहिलेको सरकार गठबन्धनको भएको भन्दै उनले एमाले सो सरकारमा रहन नहुने आङ्बोको भनाइ छ ।
कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेका कार्कीलाई कांग्रेसका ७ र एमालेका ३९ सांसदले समर्थन गरेका थिए। उनी मुख्यमन्त्री नियुक्त भएलगत्तै कांग्रेसका सबै, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले समेत उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए ।
बुधबार मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतको पक्षमा ८६ जनाले मत दिए भने राप्रपाका ५ प्रदेश सभा सदस्यहरुले मात्र विपक्षमा मतदान गरे । कोशी प्रदेश सभामा ९१ प्रदेश सभा सदस्यहरुले मतदानमा भाग लिएका थिए ।
मुख्यमन्त्री कार्कीले विश्वासको भारी मत पाएपछि कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना तत्कालका दागि टरेको छ ।