उपेन्द्र यादव पनि खाँटी कम्युनिस्ट : माधव नेपाल

मूलखबर संवाददाता
काठमाडौं

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा बनाउँदा देशमा तरंग सिर्जना भएको बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई आज सम्बोधनको क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि कम्युनिष्ट भन्दै नेपालले भने, ‘चार दल एकताबद्ध भएपछि देशमा तरंग पैदा भएको छ । कतिपय पार्टीको झण्डै सातो नै गएको छ तर जानुपर्दैन, किनकी हामी साँचो सोच्छौँ । सकारात्मक छौँ । एकअर्काका विचारको सम्मान गर्छौं । अस्तित्व स्वीकार्छौ ।’

‘उपेन्द्र यादव जी पनि खाँटी कम्युनिस्ट हो । यो देशको पुरानो कम्युनिस्ट नेता नै हा,’ नेपालले भने ।

अहिलेको सत्ता गठबन्धनको विकल्प नभएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्ष टिक्ने बताए ।

वर्तमान समाजवादी मोर्चाले नेपाली कांग्रेस आत्तिएको भन्ने भ्रम नपाल्न पनि उनले आग्रह गरे । ‘समाजवादी मोर्चाले कांग्रेस आत्तिएको छ भन्ने परेको होला केही भएको छैन,’ उनले भने ।