इजरायलमा दिवंगत नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । इजरायलमा दिवंगत नेपालीहरुको शोकमा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।

माइतीघर मण्डलामा भेला भएका नेपालीहरुले हार्दिक श्रद्धाञ्जली लेखेर मैनबत्ती बाले अनि मृतकको आत्माको शान्तिको कामना गरे ।

युद्धले हित नगर्ने भएकाले इजरायलको द्वन्द्व अन्त्य होस् र विश्वमा शान्ति छाओस् भनेर पनि कामना गरेको लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले बताए । इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन उनले सरकारसँग माग गरे ।

गत शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीहरुको मृत्यु भएको थियो । केही नेपालीहरु घाइते र केही बेपत्ता छन् । केही नेपालीहरु बंकरमा बसेर ज्यान जोगाइरहेका छन् ।

इजरायलमा मृत्यु भएका १० जना नेपालीहरुको सम्झनामा  सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ भने  ज्यान गुमाएकाका परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ ।