युवाहरूले दुर्गा प्रसाईंलाई दले कालोमोसो
२२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका छन् । काठमाडौंको कान्तिपथस्थित एलो प्यागोडा होटलमा प्रसाईंमाथि युवाहरुको समूहले कालोमोसो दलिदिएको हो ।
एलो प्यागोडा होटलमा प्रसाईंले आज पत्रकार सम्मेलन आयोजना गरेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका थिए ।
टाउको, अनुहार र कपडामा कालोमोसो परिएपछि उनी शरीरको माथिल्लो भागको कपडा फुकालेर होटेलभित्र छिरेका थिए । सामाजिक सन्जालमा सेयर गरिएको फोटो र भिडियोमा प्रसाईं सेतो गन्जीमामात्रै देखिन्छन् ।
प्रसाईंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । उनले त्यो दस्तोको संयोजकमा शम्भु थापालाई तोकेका थिए । तर थापालाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो ।
प्रसाईंले उक्त होटलमा भ्रष्टाचारीहरुको तस्वीर सार्वजनिक गर्ने भन्दै पत्रकार सम्मेलन कार्यक्रम राखेका थिए । तर कार्यक्रममा उनले कसाइको अपहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै युवाहरू आक्रोशित भए । उनीहरूले सामाजिक सदभाव भड्काउन खोजेको भन्दै प्रसाईंविरूद्ध नाराबाजी समेत गरेका थिए । उनले व्यवसाय संकटमा परिरहेको बेला व्यवसायीहरुलाई नै गाली गर्ने गरेको भन्दै युवाहरु प्रसाईंविरुद्ध खनिएका थिए ।
को हुन् ती युवा ?
प्रसाईंविरूद्ध आक्रोशित भएका युवाहरूले आफूहरूलाई ‘स्वतन्त्र युवा समूह’ भनेर पत्रकारहरूलाई परिचय दिएका थिए ।
इजरायलबाट नेपालीहरुको उद्धार गर्न सरकार सक्रिय भइरहेका बेला प्रसाईंले दुबईबाट हवाईजहाज पठाएर नेपालीहरुको उद्धार गर्ने प्रचार गरेका थिए । तर कालोमोसो दल्ने युवाहरुले प्रसाईंले इजरायलमा मृत्यु भएका नेपालीको शवमा सुन लुकाएर नेपाल ल्याउने प्रपन्च रचेको आरोप लगाए ।
लोकतन्त्रमा हरेक व्यक्तिलाई राजनीतिक दल खोल्ने र राजनीतिक गतिविधिमा लाग्न पाउने स्वतन्त्रता हुँदाहुँदै पनि दुर्गा प्रसाईंले नेपालका राजनीतिक दलहरुलाई गालीगलौज गर्ने र अनेक लान्छना लगाउने गरेको भन्दै युवाहरु आक्रोशित भए ।
उनीहरुले दुर्गा प्रसाईं राजतन्त्रको अवशेष भएको बताए । तर मरिसकेको राजतन्त्र फर्काउने सपना नदेख्न उनीहरुले चेतावनी दिए ।