इजरायलमा १० नेपालीको मृत्यु, १ बेपत्ता, ४ घाइते
काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको छ । एक जना बेपत्ता छन् भने चार जना घाइते छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी छन् ।
मृत्यु हुनेहरुमा कैलाली, डोटी र दार्चुलाका २–२ जना छन् । यसैगरी बझाङ, दार्चुला, धनुषा, सुनसरी र सल्यानका १–१ जना छन् ।
सल्यान र दाङ, कैलाली र गोरखाका एक–एक जना अस्पताल भर्ना भएका छन् । भीमदत्त ३ कन्चनपुर घर भएका एक जना सम्पर्कविहीन छन् ।
आज परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहती भएको बताएका थिए ।
यसैबीच आज बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि परराष्ट्र मन्त्री साउदको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको छ ।
हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै दुई हजार जनाभन्दा धेरै घाइते भएका छन् । कैयौँ इजरायलीलाई हमास विद्रोहीले बन्धक बनाएका छन् ।
इजरायली सेनाले पनि जवाफी कारबाहीमा चार सय जनाभन्दा धेरै विद्रोही मारिएका बताएको छ ।