शनिबार दुई पुस्तक सार्वजनिक गर्दै प्रचण्डले दिएका ३ सन्देश
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महत्त्वपूर्ण सन्देश दिएका छन्। शनिबार काठमाडौंमा आयोजित २ पुस्तक सार्वजनिक गर्ने समारोहमा प्रचण्डले तीन सन्देश दिए।
संघीयता र गणतन्त्रमाथि अझै खतरा
पहिलो सन्देशमा उनले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सिंहदरबारको अधिकार घरगाउँमा पुर्याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको बताए । त्यसमाथि प्रश्न उठाउने प्रयत्न भइरहेको उनको भनाइ छ ।
स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको उनले बताए । राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने उनले उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले संघीयतासम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न आशंका पैदा हुने अवस्था आएको बताए । लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जनताको हितमा इमानदारीका साथ लागु गरिएको छ कि छैन भनेर समीक्षा गर्ने बेला आएको उनको धारणा छ ।
उनले जनतामा सकारात्मक परिवर्तनको महसुस नहुँदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने बताए । प्रचण्डले, गणतन्त्रमाथि आक्रमण भइरहेको पनि बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेता राम कार्कीको लेखहरूको पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘जनयुद्ध’ गर्नु गल्ती र हिंसा थियो भनेर एकथरीले भड्काउने प्रयास गरेको उनले उल्लेख गरे । उनले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताए ।
अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन उनले आग्रह गरे । उनले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्र देख्ने परिपाटी रहेको टिप्पणी गरे ।
प्रधानमन्त्री प्रचण्डले नेतृत्व भनेको जनता र इतिहासले आन्दोलन र संघर्षका बीचबाट जन्माउने बताए ।
जनयुद्धको बदनामी गर्न खोजिँदै छ
प्रचण्डले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एकथरीले भड्काउने प्रयास गरिरहेको बताए।
“संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ । त्यसमाथि प्रहार भइरहेको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो, त्यो अपराध थियो, एउटा एंगल तपाईंहरूले सुनिरहनुभएको छ– संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो । त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाईं–हामीले देखिरहेका छौँ । सुनिराखेका छौँ । र, यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने अर्को पक्ष पनि छ,” उनले भने, “एकथरी मानिसहरू यो परिवर्तनका वाहकहरूलाई विद्रुपीकरण गर्ने, तिनलाई बदनाम गर्ने, कुनै तरिकाले तिनको प्रभावलाई, एजेन्डालाई कमजोर पार्ने कसरत भइरहेको छ । त्यसलाई मद्दत दिने गरी हाम्रा अभिव्यक्ति हुने कि यो परिवर्तनको रक्षा गर्नेहरूको पक्षमा हुने भन्ने फैसला सबै क्रान्तिकारीहरूले गर्नुपर्छ । अहिले राम्रा काम भएको हामीले खोज्न थालेका छौँ । नराम्रा मात्रै देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या हो कि लिडरसिपको समस्या हो ? लिडरसिप भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा हो ।”
दक्षिणपन्थीले देशमा टाउको उठाउने खतरा रहेको उनको भनाइ छ ।
नेतृत्व छोड्न तयार छु
प्रचण्डले क्रान्तिबाट आएको परिवर्तन रक्षाका लागि पार्टी र देशको नेतृत्वमा आफू पुगिरहेको बताए । अध्यक्ष प्रचण्डले विकल्प आएमा आफू नेतृत्व छोड्न तयार रहेको आशय व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रचण्डले भने–‘म नेतृत्वमा रहेको नै ३५ वर्ष भइसक्यो । छोड्छु भन्दापनि सुख छैन । तपाईँहरूले भन्न सक्नुहुन्छ अब प्रचण्डले छोडिदिनुपर्छ फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ ? तपाईँहरूले भनिदिनुभयो भने मत खुसी हुन्छु । तर परिस्थिति त्यस्तो हुँदैन । मैले हिजो युद्धकलादेखि नै प्रत्येक पटक स्कुलिङ गर्दा युवाहरूलाई विद्रोह जनताको अधिकार हो, विद्रोह क्रान्तिकारीहरूको पनि अधिकार हो र जिम्मेवारी पनि हो भन्दै आएको हो । केही साथीहरूले विद्रोहको अधिकार पनि प्रयोग गर्नुभयो तर नयाँ बिचार, सिद्धान्त ल्याएर क्रान्ति अगाडि बढाउन सक्नुभएन ।’
उनले हिजो जनयुद्ध गर्दा, शान्ति सम्झौता र संविधानसभा चुनाव आफूले युवाहरूलाई अहिले एक्काइसौँ शताब्दीमा विज्ञान प्रविधिको विकास, सामाजिक वर्गहरूको स्थितिमा आएको परिवर्तन, अर्थतन्त्रको विकासमा आएको परिवर्तनको गम्भीर समीक्षा नगरी बनिबनाउ रूपमा एकपटक क्रान्तिको नेतृत्व गरेको व्यक्तिले निरन्तर नेतृत्व गरिनै राख्नुपर्छ भन्ने कुनै अनिवार्यता नभएको बताउने गरेको सुनाए । आफूले एकाधिकारै जमाउन खोजेको हो भन्ने देखिए पनि आफ्नो इच्छाकै कारण मात्र त्यस्तो नभएको उनले बताए ।