इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालीहरु पनि घाइते भएका छन् ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार अहिलेसम्म ९ जना नेपाली घाइते र दुई जनाको अवस्था गम्भीर रहेको पुष्टि भएको छ ।
काम गरेर आवासमा फर्किरहेको बेला १५ नेपालीहरु हमासको आक्रमणमा परेका थिए । तीमध्ये ९ जना घाइते भएका र घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
इजरायलमा नेपालीहरु पनि परेको सूचना पाएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयमा आकस्मिक बैठक बसालेका थिए । बैठकपछि उनले केही नेपालीहरु आक्रमणमा घाइते भएको भन्दै त्यस सम्बन्धमा सरकारले आवश्यक निर्णय लिने र नेपालीहरुको अवस्थाबारे थप विवरणहरु सार्वजनिक गर्दै जाने बताएका थिए ।
आक्रमणमा परेका नेपालीहरु को हुन् ?
इजरायल सरकार विद्रोही लडाकू हमासबीचको लडाइमा नेपालीहरु पनि परेको विवरण प्राप्त भए पनि उनीहरुको परिचय, अवस्था र संख्या थाहा हुन सकेको छैन ।
यद्यपि कृषि क्षेत्रमा कामदारको रुपमा गएका नेपालीहरु आक्रमणमा परेको भने निश्चित छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार आक्रमणमा परेका नेपालीहरू नेपाल र इजरेलबीच भएको जीटुजी सम्झौता (सरकार–सरकारबीच भएको सम्झौता) अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएकाहरू हुन् । नेपालीहरु कार्यरत गाजाको एउटा कृषि फर्ममा आक्रमण भएको र केही घाइते भएको विवरण आएको उनले बताए ।
उक्त कृषि फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले विवरण संकलन गर्न सकिएको छैन । तर इजरायली सेनाले धेरैलाई बंकरमा सुरक्षित रूपमा बसालेको जानकारी पनि आएको छ ।
सुरक्षित रहन दूतावासको अनुरोध
इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा करिब ४५ सय नेपाली नागरिक कार्यरत रहेको जनाएको छ ।
इजरेलस्थित नेपाली राजदूतावासले सतर्क रहँदै स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भनेको छ । ‘इजरेलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ । यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ ।’
अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको पनि जानकारी गराएको छ ।
दूतावासले भनेको छ, ‘…अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौं । तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेअर गरेर अरुलाई त्रसित नगराउनुहोला ।’