ताप्लेजुङका सबै वडामा कार्यालय स्थापना गर्दै माओवादी
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रले ताप्लेजुङका प्रत्येक वडामा कार्यालय स्थापना गर्दै आएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादीले प्रत्येक वडामा कार्यालय स्थापना गर्न लागेको हो ।
नौ स्थानीय तह रहेको जिल्लामा ६१ वडा छन् । हाल पार्टीले सञ्चालन गर्दैआएको रुपान्तरण अभियानसँगै वडामा वडा तथा सम्पर्क कार्यालय स्थापना गरिरहेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिए ।
उनका अनुसार अधिकांश वडामा पार्टी स्थापना भइसकेका छन् । आगामी मङ्सिर १५ गतेसम्म सञ्चालन हुने पार्टीको तीन महिने अभियानको अवधिमा ६१ वटै वडामा कार्यालय स्थापना भइसक्ने उनले बताए । पार्टीको नियमित कार्य सम्पादन तथा वडास्तरका कार्यकर्ता साथै शुभेच्छुक सर्वसाधारणसँगको सम्पर्कलाई जीवित राख्ने उद्देश्यस्वरुप पार्टी कार्यालय स्थापना गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सीता थेबेको नेतृत्वमा जिल्लामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा पार्टीका कमिटीहरु, भातृ तथा जनवर्गीय सङ्गठनको गठन–पुनर्गठन, भेला, बैठक, प्रशिक्षणजस्ता कार्यहरु भइरहेको माओवादी केन्द्रले जनाएको छ ।