लिङ्देनले भनेको ‘राजा’ संसदको रेकर्डबाट हटाउन माओवादीको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर गरेको सम्बोधन संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठको शून्य समयमा अध्यक्ष लिङ्देनले केही सांसदले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेको आरोप लगाएकोमा आपत्ति जनाउँदै भनेका थिए, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । म त्यसको जानकारी लिन चाहन्छु ।’ राप्रपा अध्यक्ष लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।
त्यसपछि आफ्नो बोल्ने पालो आएपछि माओवादी केन्द्रका सांसद दाहालले लिङ्देनले प्रयोग गरेको ‘राजा’ शब्दप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनले भने ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एउटा माननीयले राजा शब्द प्रयोग गर्नुभयो, यो सम्मानित सदनमा । यो संघीय लोकतान्त्रिक गणतान्त्मक मुलुक हो । तसर्थ राजा भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’