बझाङ भूकम्प : मृतक परिवारलाई २ लाख, घर पूर्ण क्षति भएकालाई ५० हजार राहत
बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितहरुले भोग्दै आएको आवास लगायतका समस्या समाधान गर्ने बचन दिएका छन् ।
शुक्रबार मन्त्रीहरुसहित भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट ज्यान गुमाएकाको परिवारलाई २ लाख र पूर्णरुपमा घर क्षति भएकाहरुलाई तत्कालका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
यसैगरी भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गर्ने र घाइतेहरुको निःशुल्क उपचार गर्ने पनि प्रधानमन्त्री प्रचण्डले घोषणा गरे ।
नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदसहित काठमाडौंबाट बझाङ आएका हुन् ।
बझाङको भोपुर ब्यारेकमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्डले जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प पीडितहरुलाई भेटेका थिए । भूकम्प पीडित बलबहादुर सुनारले प्रधानमन्त्री र मन्त्रीहरुसहितको टोलीलाई आफूहरुले भोगिरहेको समस्या सुनाएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले पनि पीडितहरुको समस्याबाट आफू दुःखी रहेको भन्दै समस्या समाधान गर्ने बताए । तत्काल खाद्यान्न र स्वास्थ्य समस्या हल गर्ने र पछि सुरक्षित आवासको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनले राहत वितरण र पुनर्स्थापनालाई तीव्रता दिने बताए ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले भौतिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
भूकम्पमा घर भत्किएकाहरु सार्वजनिक स्थानमा टेन्टमुनि बस्दै आएका छन् । तर अहिलेसम्म कति घर पूर्ण क्षति भएका छन्, कति आंशिक क्षति भएका छन् र कति प्रबलीकरण गर्नुपर्ने खालका छन् भनेर एकिन विवरण भने आइसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने बताए ।
बझाङमा भूकम्पले पुर्याएको क्षति अवलोकन र पीडित परिवारसँग अन्तर्क्रिया गरेपछि जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाको अवस्था र भइरहेका कामबारे अवगत गराएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई राहत हस्तान्तरण गरेका थिए ।
बझाङको चैनपुर पुगेर प्रधानमन्त्री प्रचण्डले गरेको घोषणा यस्ता छन्–
१. गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलीकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।
२.भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु.५०,००० (पचास हजार)उपलब्ध गराइने छ ।
३.भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।
४.राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।
५. भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।
६. भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिनेछ ।
७. भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने छ ।
८.सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गरिनेछ ।
९.हालसालै गएका थुप्रै भूकम्पहरूलाई जोखिमको पूर्व संकेतको रूपमा लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, क्षति न्यूनिकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको छ । यी कामहरूलाई बझाङ लगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइनेछ ।
१०. बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्व राख्ने कैयन परियोजना अघि बढाइएका छन् । हालै मित्र राष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपालतर्फ दिपायल–खुटिया–उरै–ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चित गरिएको छ ।
११. प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटनका क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् ।
१२.नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजना कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ ।
१३. भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयोग प्रदान गर्न खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, दातृसंस्था, निजी क्षेत्रलगायत सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागि समेत आह्वान गर्दछु ।