एमालेमा नेपथ्यमा बसेर ओलीलाई हराउने को हो ? के हुनसक्छ यस्को संकेत

मूलखबर संवाददाता
काठमाडौं

कुनै बेला निर्वाध पार्टी चलाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को मोर्चामा हार्ने अवस्था आएको छ। खासगरी प्रदेश अधिवेशनले ओलीलाई निरन्तर हार चखाइरहेको छ।

अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि गरेको आह्वानविपरीत बिहीवारसम्म अधिवेशन सम्पन्न गरेका नेकपा एमालेका चारवटा प्रदेश समितिहरूले निर्वाचनबाटै नेतृत्व चयन गरेका छन्। तर आफ्नो निर्देशनविपरीत प्रतिस्पर्धाबाट नेतृत्व चयनको अभ्यास अघि बढेपछि प्रदेशको नेतृत्वमा आफूले चाहेका नेतालाई जिताउन ‘बालकोट आफैँ सक्रिय’ भए पनि हारिरहेको छ।

लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकी प्रदेशको अधिवेशन ओलीले चाहेको जस्तो हुन सकेन। उनको साथ पाएका नेताहरु समेत प्रदेश नेतृत्वको चुनावमा पराजित भएका छन्।

ओलीको अवज्ञा र हारको श्रृंखला

पछिल्लो उदाहरणका रूपमा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । नवराजको विजयले एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य खगराज अधिकारी , सचिव पद्मा अर्यालको गुट उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समुहसॅंग पराजित भएको छ अर्थात् ओलीको सर्मनाक हार भएको छ ।

भदौ १९ गते लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले साथ दिएका हरि रिजाल पराजित भए। उपाध्यक्ष विष्णु पौडेलले साथ दिएका राधाकृष्ण कँडेलले रिजाललाई हराए।

अध्यक्ष, महासचिवले टिम नै बनाएर लुम्बिनीमा नेतृत्व लिन खोजेपछि तल्लो तहका कार्यकर्ता त्यसविरुद्ध उत्रिएको कतिपय नेताहरु बताउँछन्। यद्यपि, लुम्बिनीमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको व्यक्तित्वको टकरावले चुनावसम्म धकेलेको चर्चा पनि छ।

ओलीले लुम्बिनीमा आफ्नै पक्षका नेताको हारलाई स्वाभाविक रुपमा लिन सकेनन्। त्यसपछि ओलीले असोज ८ र ९ गते भएको बागमती प्रदेश अधिवेशनमा प्यानल बनाए उम्मेदवारी खारेज गर्ने चेतावनी दिए।

तर, उनको चेतावनीलाई प्रतिनिधिले हावामा उडाइदिए। बागमतीमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालको छुट्टाछुट्टै प्यानल बन्यो। अध्यक्ष ओली, महासचिव पोखरेलले ढुङ्गेललाई समर्थन गरे। उनी ढुङ्गेललाई सर्वसम्मत अध्यक्ष बनाउने योजनामा थिए। तर, अधिवेशन प्रतिनिधिले मानेनन्।

योजनाअनुसार सर्वसम्मत हुने सम्भावना नदेखेपछि बन्दसत्र सकिएको तीन दिनपछि बल्ल चुनाव भयो।

प्रभावशाली पदाधिकारीको साथ नपाए पनि प्रतिनिधिको समर्थनले बलियो देखिएका दाहालले जित्ने माहौल देखेसम्म चुनाव नै सुरु नभएको कतिपयको आरोप छ। दाहालको पक्षमा खुलेर लागेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटालाई ओलीले ढुङ्गेलको पक्षमा खुल्ने बनाएपछि मात्र चुनाव भयो १२ गते। र, ढुङ्गेल अध्यक्ष निर्वाचित भए।

कोशी प्रदेश अध्यक्षमा पराजित भएका एमाले नेता विनोद ढकालले सरकारी शक्तिको दुरुपयोगसँगै एमालेभित्र नियन्त्रित लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।

अधिवेशनपछि एमाले मोरङ पार्टी कार्यलयमा, विराटनगरमा पत्रकार सम्मेलन गर्दै ढकालले एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीकै सदस्यहरूले खुलेआम प्रदेश निर्वाचन प्रभावित पारेको आरोप लगाए । आफूलाई मतदान गर्न चाहाने पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको हवाला दिएर माथिल्ला कमिटीका नेताहरूले कार्यकर्ता थर्काएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा ढकालले नियन्त्रित लोकतन्त्रले कसैलाई फाइदा नपुग्ने जनाए । ‘उहाँहरूको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पर्धालाई अस्वस्थ र दबाबमूलक बनाएको छ, के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ?’ स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूलाई इंगित गर्दै ढकालले भने, ‘के पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुनसक्छ ?’

नेपथ्यमा को छ
एमालेमा सुरु भएको ओलीविरुद्धको असन्तुष्टि विस्तारै एकीकृत हुँदै छ । बाहिर नबोले पनि एमालेका सचिवालय सदस्यहरु नै ओलीसँग सन्तुष्ट छैनन् । दोस्रो तहका असन्तुष्ट नेताहरुले गुटबन्दी थालेका छन् । ओलीभन्दा तल उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गुट निर्माणमा लागेको चर्चा राजनीतिक वृत्तमा छ । एमालेमा तत्कालीन मालेमा महासचिव सीपी मैनालीविरुद्ध असन्तुष्टहरु एक भएजस्तै अवस्था देखिन थालेको पार्टीका एक सचिवालय सदस्यको विश्लेषण छ । मालेका महासचिव रहेका मैनाली ०३९ सालमा पदबाट हट्नु परेको थियो ।

प्रदेश अधिवेशनमा प्रतिस्पर्धा देखिए पनि ओलीविरुद्ध कसले गुट बनाइरहेको छ भन्ने स्पष्ट देखिँदैन । तर, छायाँ शक्तिका रूपमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी ११औँ महाधिवेशनमा नेतृत्व गर्ने गरी आउन सक्ने सम्भावना कायमै छ । नेताहरु पनि त्यो नकार्न सक्दैनन् । एमालेका एक पदाधिकारी ओली नै विद्यालाई अध्यक्षको रुपमा अघि सार्न सक्ने सम्भावना अहिले चलिरहेको विद्रोहले देखाएको छ।