अधिकृतस्तरका १७८ अस्थायी दरबन्दी स्वीकृत, सहन्यायाधिवक्ता पराजुलीको बढुवा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक भएको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

मन्त्रिपरिषद बैठकले अधिकृतस्तरका १७८ जना अस्थायी दरबन्दी स्वीकृत गर्नेदेखि विदेशी अनुदान सहायता स्वीकार गर्नेसम्मका निर्णयहरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राललय अन्तर्गतका १७२ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका ६ जना अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

यसअघि पनि सरकारले अधिकृतस्तरका ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यसैगरी सहन्यायाधिवक्ता लोकराज पराजुलीलाई सचिव पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

लोकराज पराजुली

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव श्यामकुमार भट्टराई न्यायाधीशमा सिफारिस भएपछि उक्त पद रिक्त थियो ।

बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै उदय आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्र्यांक ५४ लाख ५० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडलाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदान बापत कुल ७ लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने लगायतनका निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।