ओलीको शान्ति प्रक्रियाविरोधी अलाप, संसदमा मनलाग्दी बोलेपछि समय निर्धारणको माग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा तथ्य र प्रमाणलाई आधार बनाउनेभन्दा सत्ताबाट बाहिर रहनुपर्दाको आक्रोश पोखेका छन्। ओलीले मंगलबार प्रतिनिधि सभाको बैठकमा उनको अभिव्यक्तिलाई शान्ति प्रक्रिया विरोधी अलाप पनि भन्न सकिन्छ।
ओलीले आफूबाहेक सबैलाई आलोचना गर्दै राष्ट्रपति, प्रधानमन्त्री र सत्ता गठबन्धनमाथि आरोपको वर्षा गरे। उनले आरोप लगाउने क्रममा नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलाई लिएर उनले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरे। नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले भने अस्वीकार गरेको थियो।
अघिल्लो सरकारका पालामा संसदले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक ओलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणीकरण गर्नबाट रोकेका थिए। ओलीले ज्यान मुद्दामा सजाय पाएकाहरुलाई कैद मिनाहा गरेकामा पनि राष्ट्रपति पौडेलको आलोचना गरेका छन्। उनले राष्ट्रपतिमाथि संविधानको संरक्षकभन्दा सत्ता गठबन्धनको आदेश पालकको भूमिका निर्वाह गरेको आरोप लगाए।
माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिन वर्सेनि बिदा दिने निर्णय फिर्ता नलिए सह्य नहुने चेतावनी दिएका छन्। सरकारले यो निर्णय गर्दा एमाले नै सरकारमा थियो। त्यतिखेर एमालेले मौनता साँधेको थियो। तर ओलीले मंगलबार हिंसा सुरु भएको दिनलाई भोज खाने दिनका रुपमा मनाउन नसकिने बताए।
एमालेले संक्रमणकालीन न्यायलाई अघि बढाउन भूमिका नखेल्ने संकेत दिएको छ। गत वर्ष द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनालाई वर्गिकरण गरी घटनामा संलग्नलाई माफी दिने गरी गरेको प्रस्ताव एमालेकै विमतिका कारण रोकिएको थियो।
सरकारले यो वर्ष पनि उक्त विधेयकलाई जस्ताको त्यस्तै संसदमा ल्याएको छ। कानुन न्याय तथा मानव अधिकार समितिले उपसमिति नै बनाएर विधेयकमाथि सहमति जुटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन।
मनलाग्दी समय
शून्य समय सकिएलगत्तै प्रतिनिधिसभामा मंगलबार रोस्टममा उक्लिए, विपक्षी नेता ओली । त्यसपछि उनले सम्बोधन गर्न थाले, त्यसपछि उनी निरन्तर १ सय १२ मिनेट १५ सेकेण्ड बोलिरहे ।
उनी कहिले सरकारविरुद्ध आक्रोशित हुन्थे, घरिघरि ठट्यौली शैली पनि प्रयोग गर्थे । ओलीले सुरूवातबाटै सरकार र गठबन्धनको खैरो खन्न लागे ।
उनले सम्बोधनका निम्ति बुँदा लगेका थिए, जसको व्याख्यात्मक शैलीमा सत्ताको खरो आलोचना गरे । अन्त्यमा भने, ‘‘सरकारको विकल्प खोज्न ढिला गरिए देश बर्बाद हुनेछ ।’’ ओलीको भाषण पट्यारलाग्दो भएको सांसदहरूले विशेष समयमा बोल्दा आक्रोश नै पोखे । ओली स्वयंले पनि आफूले धेरै बोलेको र सांसदहरूलाई पट्यार लागेको स्वीकार गरे ।
जनयुद्धको विरोध अस्वीकार्य-माओवादी
नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन्। प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन्।
उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको विरोध गर्नु उपयुक्त नहुने बताए। उनले ओलीले संसदमा देवदूतले जस्तो गरी उपदेश दिने गरेको टिप्पणी गरे। ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको बताए।
समय तोकौं-चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीहरुलाई संसद्मा बोल्न दिने समयबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्। ओलीले करिब दुई घण्टा सम्बोधन गरेकोप्रति लक्षित गर्दै उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरुलाई जति मन लाग्यो, त्यति समय बोल्न पाउने व्यवस्था गर्न नहुने बताए।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले ओलीले दुई घण्टा संसद्मा सम्बोधन गर्दा के नै नयाँ कुरा आयो र? भनि प्रश्नसमेत गरे। उनले अपराधीहरुलाई पनि आममाफी दिने काम गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि व्यक्त गरे।