कोरोनाकाे खोप विकास गर्ने वैज्ञानिकले पाए नोबेल पुरस्कार

मूलखबर संवाददाता
काठमाडौं, १५ असाेज

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप विकास गरेका दुई जना वैज्ञानिकले यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार पाएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार पाएका हुन् ।

सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) दिइनेछ ।

सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर र बायोएनटेकलगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । ती खोपले लाखौँ मानिसको ज्यान जोगाएका थिए ।

गत वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई दिइएको थियो ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ३, रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।